काठमाडौं । जेनजी आन्दोलनको एक वर्ष पूरा हुँदा पनि आन्दोलनका क्रममा भएको क्षतिबापत बीमितले पाउनुपर्ने दाबी भुक्तानी अझै पूर्ण रूपमा पाउन सकेका छैनन्। आन्दोलनबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा २३ अर्ब १९ करोड रुपैयाँभन्दा बढीको दाबी परेको थियो।
नेपाल बीमा प्राधिकरणका अनुसार आन्दोलनका क्रममा क्षति व्यहोरेका ३ हजार ३ सय ९० बीमितले कुल २३ अर्ब १९ करोड रुपैयाँ बराबरको दाबी गरेका थिए। तर गत असार २२ गतेसम्म बीमा कम्पनीहरूले ८ अर्ब ८२ करोड रुपैयाँ मात्रै दाबी भुक्तानी गरेका छन्। यो कुल दाबी रकमको करिब ३८ प्रतिशत हो।
जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटबाट काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा ठूलो भौतिक क्षति भएको थियो। सरकारी कार्यालय, सिंहदरबार, अदालत तथा राजनीतिक दलका कार्यालयदेखि निजी क्षेत्रका व्यवसायिक संरचनासम्म प्रभावित भएका थिए।
आन्दोलनबाट ठूला व्यापारिक प्रतिष्ठान र होटलहरूमा समेत व्यापक क्षति पुगेको थियो। भाटभटेनी सुपरमार्केटका २७ वटा शाखामध्ये २० वटामा ठूलो क्षति भएको थियो। भाटभटेनीबाट मात्रै बीमा कम्पनीहरूमा करिब ८ अर्ब रुपैयाँ बराबरको दाबी परेको थियो।
त्यस्तै, हिल्टन काठमाडौं होटलमा करिब साढे ८ अर्ब रुपैयाँ बराबरको क्षति भएकोमा ५ अर्ब रुपैयाँ बराबरको बीमा दाबी परेको थियो। हायात रिजेन्सीसहित ३० भन्दा बढी होटलमा समेत आन्दोलनका क्रममा क्षति पुगेको थियो।
यसका अतिरिक्त स्थानीय तहका संरचना, सरकारी तथा निजी सवारीसाधन र अन्य व्यवसायिक सम्पत्तिमा भएको क्षतिबापत पनि बीमा कम्पनीहरूमा ठूलो रकमको दाबी परेको थियो।
ठूलो परिमाणमा दाबी परे पनि एक वर्षको अवधिमा कुल दाबीको ३८ प्रतिशत मात्रै भुक्तानी हुनु बीमितका लागि चासोको विषय बनेको छ। बाँकी दाबीको मूल्याङ्कन, आवश्यक कागजात तथा अन्य प्रक्रियाका कारण भुक्तानीमा ढिलाइ भइरहेको देखिन्छ।