काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जापानबाट सामाजिक सञ्जालमार्फत आफूविरुद्ध भइरहेको प्रचारप्रसारको कडा प्रतिवाद गरेका छन्। आफूलाई लक्षित गर्दै भ्रामक सूचना फैलाइएको दाबी गर्दै उनले फेसबुक लाइभमार्फत आक्रोश व्यक्त गरेका हुन्।
शाही केही दिनदेखि कर्णाली प्रवासी संघको निमन्त्रणामा जापान भ्रमणमा छन्। जापान जानुअघि संसदमा बोल्दै उनले कर्णालीमा भीरमा अड्किएर एक युवाको मृत्यु भएको घटनालाई उठाउँदै प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आलोचना गरेका थिए। त्यसयता सामाजिक सञ्जालमा उनीमाथि विभिन्न आरोप र टिप्पणी हुन थालेका थिए।
यही क्रममा केही वर्षअघि दुबई भ्रमणका बेला एक महिलासँग खिचिएको तस्वीरलाई उनकी श्रीमती भन्दै सामाजिक सञ्जालमा प्रचार गरिएपछि शाहीले त्यसप्रति असन्तुष्टि जनाएका छन्। उनले उक्त तस्वीरमा देखिएकी महिला दुबईमा कार्यरत नेपाली चेली भएको उल्लेख गर्दै उनको चरित्रमाथि आघात पुग्ने गरी गलत प्रचार गरिएको बताएका छन्।
सामाजिक सञ्जालमा लेखेको स्टाटसमा उनले आधारहीन आरोप लगाएर कसैको प्रतिष्ठामाथि प्रहार गर्नु गैरजिम्मेवार कार्य भएको उल्लेख गर्दै आफूले संसदमा उठाएका विषयको तथ्यगत जवाफ दिन चुनौती दिएका छन्।
त्यसपछि जापानको ओसाकामा उनीमाथि आक्रमण भएको वा उनलाई लखेटिएको भन्ने दाबी पनि सामाजिक सञ्जालमा फैलिएको थियो। शाहीले भने आफू ओसाका नै नपुगेको र त्यस्ता सबै प्रचार असत्य भएको बताएका छन्।
जापानमै आयोजित एक कार्यक्रममा रास्वपाका सांसद खगेन्द्र सुनारसँगै सहभागी भएका शाहीले आफ्नो सम्बोधनका क्रममा पनि कटाक्षपूर्ण अभिव्यक्ति दिएका थिए। त्यसपछि उनीविरुद्ध सामाजिक सञ्जालमा थप आलोचना भएको देखिएको छ।
लगातार आलोचना भएपछि शाहीले फेसबुक लाइभमार्फत प्रतिक्रिया दिएका थिए। लाइभमा उनले आफूविरुद्ध भ्रम फैलाइएको आरोप लगाउँदै संसदमा उठाएका प्रश्नको जवाफ दिन सरकारलाई चुनौती दिएका थिए। यद्यपि, उनले प्रयोग गरेका केही शब्द र शैलीलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ।
पछि उनले उक्त लाइभ भिडियो फेसबुकबाट हटाए पनि त्यसको रेकर्डिङ विभिन्न माध्यमबाट सार्वजनिक भएको छ।
यस घटनाप्रति रास्वपाका सांसद राजु पाण्डेले असन्तुष्टि जनाएका छन्। उनले सार्वजनिक रूपमा कुनै पनि सांसदले आफ्नो पद र मर्यादाअनुसार अभिव्यक्ति दिनुपर्ने बताएका छन्। लोकतान्त्रिक व्यवस्थामा विचार राख्ने अधिकार सबैलाई भए पनि सार्वजनिक अभिव्यक्तिमा संयमता आवश्यक रहेको उनको भनाइ छ।
उता राप्रपाले भने शाहीको बचाउ गरेको छ। पार्टीका प्रवक्ता मोहन श्रेष्ठले शाही र प्रमुख सचेतक खुस्बु ओलीमाथि सामाजिक सञ्जालमा योजनाबद्ध रूपमा साइबर बुलिङ गरिएको आरोप लगाएका छन्। प्रतिपक्षका सांसदले उठाएका जनजीविकाका मुद्दालाई दबाउने प्रयास भइरहेको भन्दै उनले यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेका छन्।
यस विषयमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले आफूविरुद्ध संगठित रूपमा गलत प्रचार भएपछि प्रतिक्रिया दिन बाध्य भएको बताएका छन्। आफ्नो अभिव्यक्तिमा प्रयोग भएको भाषा केही असन्तुलित हुनसक्ने स्वीकार गर्दै उनले रिसको अवस्थामा त्यस्तो भएको प्रतिक्रिया दिएका छन्।
पछि उनले सामाजिक सञ्जालमै व्यंग्यात्मक शैलीमा एउटा कविता पनि सार्वजनिक गरेका छन्, जसमा पछिल्लो घटनाक्रमप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्।