free website hit counter

टाइम म्यागजिनको जलवायु प्रभावशाली १०० व्यक्तिको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्ले

beemaadmin
२०८३ कार्तिक २५, मंगलवार

काठमाडौं । नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले जलवायु परिवर्तनसम्बन्धी मुद्दामा प्रभावशाली भूमिका निर्वाह गर्ने विश्वका १०० व्यक्तिको सूचीमा परेका छन् ।

अमेरिकी प्रतिष्ठित सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको यस वर्षको प्रभावशाली व्यक्तिहरूको सूचीमा वाग्लेलाई पनि समावेश गरेको हो ।

Advertisement
Advertisement

विगत २८ वर्षदेखि दिगो आर्थिक विकासका क्षेत्रमा अध्येता, नीतिनिर्माता तथा निर्वाचित जनप्रतिनिधिका रूपमा सक्रिय वाग्लेलाई विशेषगरी भोटेकोसी बाढीपछि निर्वाह गरेको भूमिकाका आधारमा सूचीमा समेटिएको जनाइएको छ ।

Advertisement
Advertisement

टाइम म्यागजिनका अनुसार वाग्लेको छनोटका पछाडि मुख्य तीन आधार रहेका छन् ।

पहिलो, जलवायु न्यायका विषयमा उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा गर्दै आएको पैरवी हो । दोस्रो, जलवायु वित्त परिचालन तथा त्यसका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न अर्थमन्त्रीका रूपमा अघि बढाएका पहल हुन् ।

त्यस्तै, अन्तर्राष्ट्रिय प्रणालीमा सुधार आवश्यक रहेको विषयमा उनले राख्दै आएका विचारलाई पनि उनको छनोटको महत्त्वपूर्ण आधार मानिएको छ ।

जलवायु परिवर्तनका कारण नेपालजस्ता जोखिममा रहेका मुलुकले भोग्नुपरेका चुनौती, जलवायुजन्य विपद् र त्यसबाट हुने क्षतिको न्यायोचित सम्बोधनका विषयमा वाग्लेले अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउँदै आएका छन् ।

टाइमको उक्त सूचीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायती राजकुमार विलियम र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनलगायत विश्वका चर्चित व्यक्तित्वहरू पनि समेटिएका छन् ।

विश्व जलवायु बहसमा नेपालको प्रतिनिधित्व गर्दै आएका अर्थमन्त्री वाग्ले यस सूचीमा पर्नुलाई अन्तर्राष्ट्रिय स्तरमा नेपालको जलवायु मुद्दाले पाएको महत्त्वका रूपमा समेत हेरिएको छ ।

सम्बन्धित समाचार