free website hit counter

टार्गेट नदिए बीमा व्यवसाय विस्तार हुनै सक्दैन

beemaadmin
२०७७ फाल्गुन ९, आईतवार

संसारमा बीमा व्यवसाय भनेको स्थापित व्यवसाय हो। तर नेपालमा यसलाई अझै बाध्यता जस्तो सोच्ने गरिन्छ। त्यही कारण हाम्रो अहिलेसम्मको उपलब्धि भनेको २७ प्रतिशत मात्र छ। यसलाई हेर्दा हाम्रोमा सम्भावना पनि धेरै छ। त्यसको लागि बीमा कम्पनीहरूले नयाँ आइडियाहरू बेच्नु पर्छ।नयाँ नयाँ उत्पादन ल्याउनु पर्‍यो। नयाँ नयाँ खालका पोलिसीहरु ल्याउनु पर्‍यो।जनताको माझसम्म पुग्नु पर्‍यो।

बीमा अर्थतन्त्रको असाध्यै ठुलो अंग हो भने आउदा दिनमा यसले आफ्नो भुमिकालाई स्थापित गर्नु पर्छ। त्यसैले कम्पनीमा बढि भन्दा बढि पोलिसी होल्डरलाई आकर्षित गर्नका लागि पारदर्शी कारोबार गर्नु पर्छ। जवसम्म बीमितले आफ्नो पोलिसीबाट राम्रो प्रतिफल पाउदैन तवसम्म बीमामा आकर्षण हुने कुरै भएन। यसको बाटो कसरी खोल्न सकिन्छ रु यसका धेरै प्राविधिक पक्षहरु होलान्। कस्ता कस्ता आइटमलाई हामीले नराख्दा पनि हुन्छ।

सहरमा मात्रै केन्द्रित भएर निश्चित घरानाका मात्रै मानिसलाई पोस्ने काम गर्नु भएन। आफन्त शेयर होल्डरलाई मात्रै पोस्ने काम रोक्नु पर्छ। एक पोलिसबाट १० बर्षमा डबल हुन्छ भनेर प्रचार गर्ने तर दिने बेलामा चाहिँ २० प्रतिशत पनि रिटर्न नदिने ? दिन नसकेर नदिएको होइन। उसको १० वर्षको वासलात पल्टाउँदा उसले हरेक वर्ष आफ्ना शेयर धनीलाई टन्नै बोनस दिएकै छ । यतिसम्म छ कि ५० प्रतिशत भन्दा बढी काल्पनिक फिगर देखाएर बजारमा शेयरको मूल्य बढाउने समेत प्रयास भइरहेको छ।

बजारमा प्रमोटरको शेयर खुलम खुल्ला बिक्री भइरहेको छ भन्ने आइरहेको छ। प्रमोटर शेयरलाई सर्वसाधारण जसरी बिक्री गर्न पाइन्न। त्यसैले कानुनले वर्जित गरेको कुरालाई कहीँ कसैले गर्नु भएन। त्यो अभ्यास गरेपछि फन्दामा परिन्छ। बेथितिहरु कति छन् कति। यी सबै कुरा बिस्तारै बाहिर आउँछन्। कानुनले जे कुरालाई गर भन्छ त्यो कुरा गर्नु पर्‍यो।

कानुनले जे कुरालाई वर्जित गरेको छ त्यो कुरालाई अक्षरशः पालना गर्नु पर्छ। हामीले बिमा कम्पनीहरूलाई गर्नु पर्ने सपोर्ट, सहयोग, समर्थन लगायतका विषय रहन्छ। तर, कानून नमानेको पाइए पहिले चाहिँ सचेत गराइन्छ। पहिले उहाँहरूलाई कानुनमा यस्तो व्यवस्था रहेछ। जुन तपाइहरूले परिपालना गराउनु भएन भनेर भनिन्छ। त्यस पछि उहाँहरूको लिखित जवाफ लिइन्छ।त्यस पछि पनि उहाँहरु सच्चिनु भएन भने कानुनले जुन बाटो समात्नु भनेको छ। त्यही बाटो समातेर अघि बढिन्छ।

बजारका खराब प्रतिस्पर्धाका कुरा धेरै छन्। हामी बिस्तारै यसलाई हेर्दै जान्छौ । बजार व्यवस्थित, नियमित, विश्वासिलो होस्। धेरै मानिस बीमाप्रति विश्वास गरेर आउन्। तर के देखिन्छ भने हाम्रो सबै बीमा व्यवसायहरू शहर केन्द्रित भए। बिजनेसमा बढी भन्दा बढी नाफा कमाउने उद्देश्य जसको पनि हुन्छ। तर बिजनेस चाहिँ फेयर हुनु पर्छ। यो होइन कि जाल झेल गरेर गर्नु भएन।

कोरोना बीमाको अवस्था
अहिलेसम्म करिब करिब ३५ हजार बीमाको भुक्तानी भइसक्यो। जब डकुमेन्ट नै मिलेको छैन भने कसरी भुक्तानी हुन्छ ? कसै न कसैले त भनिदिनु पर्‍यो नि यो डकुमेन्ट ठिक छ भनेर। त्यसरी प्रमाणित गरिदिने भनेको स्वास्थ्य निकाय होला। धेरै डकुमेन्टहरू गएका छन्। त्यहाँबाट क्लियर भएर आएपछि क्रमशः भुक्तानी हुँदै जान्छ।

अर्को समस्या रकमको छ। भुक्तानीको लागि रकम राखिदिने काम पुनरबिमाको हो। अर्को पैसा हामीले पनि राख्छौ।त्यसले पनि धेरै मानिसको भुक्तानी हुन्छ। अनि कम्पनीहरूले पनि तिर्नु पर्ने बुझाउनु पर्ने पैसा छन् भने उनीहरूले पनि पुलमा राख्दै जानु पर्‍यो। अब ३५ हजार जति दाबी भुक्तानी बाँकी होलान्। तीनको पनि भुक्तानी क्रमशः हुँदै जान्छ। यो काम चाँडै हुन्छ।

बीमाको लगानी सम्बन्धी निर्देशिका छ। त्यो निर्देशिकाले तोकेको पनि छ। अहिले कम्पनीहरूले बढी रिस्क लिन चाहेका छैनन्। जबकि उनीहरूको बिजनेस नै रिस्क को हो। यो फरच्युनको बिजनेस हो। भाग्य छ,कमाइ भयो। छैन भएन। जस्तै कोरोना बीमा। यो लेभलमा कोरोना आउला भनेर त पक्कै पोलिसि ल्याइएको होइन ।

त्यसैले यो भाग्यको व्यवसायमा समितिको भनाइ भनेको तपाइलाई तोकिदिएका एरियाहरू छन्। ती एरियाहरूमा जानु पर्‍यो। खास गरेर हामीले खोजेको लगानी भनेको विकासमा हो। त्यसमा एक प्रतिशत पनि लगानी भएको छैन। जबकि बैंकले त्यस क्षेत्रमा लगानी गरिरहेको छ। सञ्चय कोष, नागरिक लगानी कोषले प्रोजेक्टहरूमा लगानी गरेको छ।

अब विकासमा जाने गरी निर्देशिका परिवर्तन गर्नुपर्छ । बीमकको लगानीलाई स्टक र बण्डमा कति राख्ने हो त्यसमा राखेर बाँकी पैसा विकास निर्माणमा लगाउने गरी निर्देशिका चेन्ज गर्ने हो। सडक बनाउन लगाउनु पर्‍यो। एयरपोर्टमा लगानी गर्नु पर्‍यो। विशेष गरेर पूर्वाधारमा उहाहरुलाइ फोकस गर्ने गरी परिवर्तन गर्ने हो।

बीमाको दायरा बिस्तार गर्ने हो भने बीमकहरुलाई टार्गेट दिनै पर्छ। किनभने सहरमा मात्रै बीमा केन्द्रित गर भनेको त होइन नि। हरेक मान्छेले बीमाको फाइदा लिनु पर्‍यो नि। सरकारले, बजेटले, राष्ट्रिय योजना आयोगले हामीलाई टार्गेट दिएको छ भने हामीले पनि कम्पनीहरूलाई टार्गेट दिनै पर्छ। वाँकी सबै एरियामा उसले दिएका निर्देशन पालना हुने तर यो क्षेत्रमा मात्रै नहुने भन्ने हुन्छ ? सबै जोड्दा पनि जम्मा २७ प्रतिशत छ जवकी ३० प्रतिशतको टार्गेट हो। तीन प्रतिशत अझै पुगेको छैन। यहाँ कोभिड बहाना बन्यो। यसको लागि समितिले अब चेक लिस्ट बनाउँछ। त्यसको आधारमा काम भए नभएको अनुगमन हुन्छ। जसले राम्रो गर्छ उसले प्रोत्साहन पाउँछ। जसले गर्दैन उसलाई कारबाही हुन्छ।

जसले राम्रो काम गर्छ उसलाई सम्मान गर्नु पर्छ। बैंक अफ दि इयर घोषणा गर्न मिल्ने तर इन्स्योरेन्स अफ दि इयर घोषणा गर्न किन नमिल्ने । कसरी गर्ने यसका लागि चेक लिष्ट बनाउँदै छौं । कसले सबैभन्दा धेरै दाबी भुक्तानी गर्यो, कसको फेयर ट्रेड छ, कसले हाम्रो निर्देशिका बमोजिम पालना गरिरहेको छ। कसले समयमा रिपोर्टिङ गरिरहेको छ। यि सबै आधारमा हामीले पनि वर्षको तीन जनालाई इन्स्योरेन्स अफ दि इयर दिने। आउने वर्षको कार्यक्रममा यसलाई राख्नुस भनेको छु। यसले एकातिर कसरी यो एक नम्बर भयो भनेर २० नम्बरकोले सोच्न थाल्छ। समिति भनेको नियन्त्रणै गरिदिने खारेजै गरिदिने कारबाही नै गरिदिने भन्ने होइन। यि सबै कुरालाई हामीले विचार गर्नु पर्छ। तै पनि लक्ष्य एउटा मात्रै हो। यो बजारको बृद्धि गर्नका लागि बीमा समितिले प्रयास गर्नु पर्छ। त्यसमा बीमा कम्पनीले हातमालो गर्नु पर्यो। नेपालको जनताको तल्लो तहसम्म बीमाको सेवा प्रवाह होस्। सबैले बीमाको माध्यमबाट सुरक्षित महसुस गरुन्। यस उद्देश्यबाट उनिहरु पनि बिचलित हुनु भएन।

(सार्वजकि अभिव्यक्तिमा आधारित)

सम्बन्धित समाचार