काठमाडौं। अर्थमन्त्रीले नेपालका २० ठूला बहुराष्ट्रिय तथा ठूला करदाता कम्पनीका प्रतिनिधिलाई बोलाएर नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका छन्। उद्योगी–व्यवसायीलाई सरकारले शंकाको दृष्टिले नभई आर्थिक विकासका साझेदारका रूपमा हेर्ने बताउँदै उनले भएका उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न र आधुनिक प्रविधि भित्र्याउन आग्रह गरेका हुन्।
बैठकमा सूर्य नेपाल, एनसेल आजियाटा, गोर्खा ब्रुअरी, हिमालय एयरलाइन्स, होङ्शी शिवम् सिमेन्ट, डाबर नेपाल, युनिलिभर नेपाल, एसियन पेन्ट्स नेपाललगायत २० ठूला कम्पनीका प्रतिनिधि सहभागी थिए।
अर्थमन्त्रीले ठूला उद्योगी–व्यवसायीलाई केवल कम्पनीका प्रतिनिधि नभई करदाता, रोजगारदाता, लगानीकर्ता र राष्ट्र निर्माणका साझेदारका रूपमा लिनुपर्ने बताए। सरकार र निजी क्षेत्र मिलेर मात्रै अर्थतन्त्र रूपान्तरण गर्न सकिने उनको भनाइ छ।
उनका अनुसार सरकारको लक्ष्य कर संकलन बढाउनु मात्र नभई उत्पादन, लगानी, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउनु हो। उद्योगको नाफा पुनःलगानी हुँदा उत्पादन र रोजगारी बढ्ने तथा त्यसले आम्दानी, बजार र अन्ततः सरकारी राजस्वसमेत बढाउने उनले बताए।
अर्थमन्त्रीले वैध लगानी, सम्पत्ति र नाफाको सुरक्षा गर्नु सरकारको दायित्व भएको भन्दै लगानीकर्ताले नियम स्थिर, कर प्रणाली पूर्वानुमेय र आफ्नो लगानी सुरक्षित रहेको अनुभूति गर्नुपर्ने बताए।
उनले ठूला कम्पनीलाई नेपालमा थप लगानी गर्न, उत्पादन विस्तार गर्न, नयाँ प्रविधि भित्र्याउन र रोजगारी सिर्जना गर्न आग्रह गर्दै सरकार निजी क्षेत्रको साथमा रहेको बताए।
बैठकमा उद्योगी–व्यवसायीबाट कर प्रशासन, नियमन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार, वित्त, निर्यात तथा सरकारी प्रक्रियामा रहेका समस्या र सुधारका विषयमा सुझाव लिइएको थियो। आगामी ६ महिनाभित्र सरकारले गर्नुपर्ने पाँच महत्वपूर्ण निर्णयबारे समेत अर्थमन्त्रीले ठूला करदातासँग सुझाव मागेका छन्।
उद्योगीबाट आएका सुझाव कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय गर्ने र अर्थ मन्त्रालयले ‘रेस्पोन्स डेस्क’मार्फत निरन्तर अनुगमन गर्ने उनले बताए।
अर्थमन्त्रीले करदातालाई केवल राजस्वको स्रोतका रूपमा नभई राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्ने सरकारको नीति रहेको स्पष्ट पारे। इमानदारीपूर्वक कर तिर्ने संस्कृतिलाई सामाजिक सम्मान दिलाउँदै लगानीकर्ता सुरक्षित र युवालाई उद्यम गर्न प्रेरित हुने वातावरण बनाउने सरकारको लक्ष्य रहेको उनको भनाइ छ।