काठमाडौं । अहिले विश्वभर आतंक मच्चाइरहेको कोरोना विरुद्ध कुन चाहिँ औषधिले काम गर्छ त भन्ने विषयमा विश्वभरका वैज्ञानिकहरु रातोदिन लागिरहेका छन् । डेक्समेथासोन नामक सस्तो र व्यापक रूपमा उपलब्ध हुने एक औषधीले कोरोना भाइरसका गम्भीर बिरामीहरूको ज्यान बचाउन सहयोग पुर्याएको छ। बेलायती विज्ञहरूका अनुसार कम डोज स्टेरोइड उपचार घातक भाइरस विरुद्धको लडाईमा एक प्रमुख सफलता साबित भएको छ। यसले भेन्टिलेटरमा उपचाररत बिरामीहरूको मृत्युको जोखिमलाई एक तिहाईले घटाएको छ। यस्तै, अक्सिजनमा भएकाहरूको लागि यसका कारण मृत्युदर पाँच भागको एक भागले घटाएको छ। हाल यो औषधी विश्वको सबैभन्दा ठूलो परीक्षण भागको एक अंश पनि रहेको छ। यस परीक्षणबाट कोरोना भाइरसका लागि यो औषधी उपयुक्त रहे या नरहेको प्रमाणित हुनेछ। अनुसन्धानकर्ताहरुको अनुमान अनुसार यदि डेक्समेथासोन बेलायतमा कोरोनाभाइरस महामारीको शुरूवातदेखि नै उपलब्ध भएको भए करिब पाँच हजारको ज्यान बचाउन सकिन्थ्यो। यो सस्तो भएका कारण गरीब देशहरूमा कारोना महामारीसँगको युद्ध लड्न फाइदाजनक रहन सक्छ।
अस्पतालमा भर्ना भएर अक्सिजन चाहिने धेरै कोरोना संक्रमितका लागि यो औषधी फाइदाजनक रहन सक्ने पनि अनुसन्धानकर्ता बताउँछन्। यो अन्य स्थितीमा पनि सुन्निने समस्याको कमीका लागि प्रयोग गरिन्छ। यसका साथै यस औषधीले प्रतिरक्षा प्रणालीमा हुन लागेको अत्याधिक क्षतिलाई रोक्न सहयोग पुर्याउँछ जसकारण कोरोना भाइरससँग लड्नका लागि यो औषधी सहयोगी देखिन्छ। डेक्सामेथाजोनले अन्य औषधीका असरलाई नियन्त्रण गर्न तथा प्रतिरोधात्मक क्षमतालाई पनि नोक्सानी पुर्याउनबाट जोगाउँदछ। (एजेन्सीको सहयोगमा)