काठमडौं । देशभर स्वास्थ्य बीमा गर्ने सरकारको तयारी अन्तर्गत डोटीमा स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले दिपायल सिलगढी नगरपालिकाको सभाहलमा बुधबार आयोजित कार्यक्रममा दुई वृद्धालाई बीमा गरी यसको शुभारम्भ गर्दै बीमा अभियानलाई प्रभावकारी बनाउन निर्देशन दिए। बीमा अभियानअन्तर्गत ‘क’ वर्गका अपाङ्गता व्यक्ति, ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोग र क्षयरोगका बिरामीलाई निःशुल्क बीमा गरिने जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य प्रमुख रमेश मलासीले जानकारी दिए। त्यस्तै स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत छुट दिइएको छ। एक घरका एकदेखि पाँचजनालाई तीन हजार ५०० रुपैयाँ र पाँचभन्दा बढी भए प्रतिएकजना बराबर ७०० रुपैयाँ का दरले वार्षिक प्रिमियम दर रकम लाग्नेछ।
सुदूरपश्चिमका नौवटै जिल्लामा बीमा कार्यक्रम कार्यान्वयनमा आएको छ। हालसम्म ४८८ स्थानीय तहमा बीमा कार्यक्रम विस्तार भइसकेको जनाइएको छ। विस २०७२ चैत २५ गते पहिलो पटक कैलालीबाट सो कार्यक्रमको शुभारम्भ भएको थियो। सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका डा. भूषण मिश्रले भने, सुदूरपश्चिमका सबै जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बीमा कार्यान्वयनमा आएको छ । यसअघि प्रदेशका अन्य जिल्लामा लागू भएको बीमा कार्यक्रममा हालसम्म कूल जनसख्याको १२ प्रतिशत जनसङ्ख्या मात्र आवद्ध भएको जनाइएको छ। पछिल्लो जनगणना अनुसार प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ रहेकोमा हालसम्म कार्यक्रममा दुई लाख ४६ हजार २०३ जना आबद्ध भएका छन्।
कैलालीमा सबैभन्दा बढि र दार्चुलामा हालसम्म सबैभन्दा कम स्वास्थ्य बीमित रहेका बताइएको छ। बीमा बोर्डका अनुसार गरिब घरधुरी पहिचान भइसकेका जिल्लामा बीमितको सङ्ख्या बढी भए पनि पहिचान नभएका जिल्लामा सहभागिताको अवस्था कमजोर रहेको देखिएको छ। त्यसैगरी प्रदेश सरकारले कैलाली, अछाम, बझाङ र बाजुरा जिल्लामा गरीब घरधुरी पहिचान गरी परिचयपत्र समेत वितरण गरिसकेको छ। प्रदेशका अन्य पाँच जिल्लामा पहिचान हुन बाँकी रहेको जनाएको छ। बीमा बोर्डका अनुसार कैलालीमा एक लाख ३५ हजार ८३१ र दार्चुलामा पाँच हजार ६८५ मात्रै हालसम्म आबद्ध भएका छन्। बझाङमा ३० हजार ११२, बाजुरामा २६ हजार ५७४, अछाममा २५ हजार ८०६, बैतडीमा ११ हजार ९९० र कञ्चनपुरमा १० हजार १९५ बीमित रहेका छन्। हालसम्म ३९ हजार ३०१ ले सो कार्यक्रमबाट स्वास्थ्य सेवा लिइसकेको र तीन करोड ८१ लाख ५ हजार २६२ रुपैयाँ लगानी भइसकेको जनाइएको छ।