free website hit counter

तीन जीवन बीमा कम्पनीबीच मर्जर सम्झौता, दोस्रो ठूलो कम्पनी बन्दै

beemaadmin
२०७९ बैशाख ३०, शुक्रबार

काठमाण्डौ । चुक्ता पुँजी वृद्धिको निर्णयसँगै बीमा कम्पनीहरु एक अर्कामा गाभिने भएका छन् । तीन जीवन बीमा कम्पनी आपसमा गाभिने भएका छन्। युनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स आपसमा गाभिने भएका हुन्। मर्जर प्रयोजनका यी तीन कम्पनीबीच आज प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको छ। सहमतिपत्रमा तीनै कम्पनीका अध्यक्षहरुले हस्ताक्षर गरेका छन्।
बीमा समितिले हाल २ अर्ब रुपैयाँ चुक्तापुँजी भएका जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र १ अर्ब रुपैयाँ चुक्तापुँजी भएका निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय गरेको थियो। समितिले बीमा कम्पनीहरुलाई २०७९ चैत मसान्तभित्र तोकिएको चुक्तापुँजी पुर्याउन समयसीमा दिएको छ। सोही पुँजीवृद्धिको योजनाअन्तर्गत युनियन, गुराँस र प्राइम लाइफ इन्स्योरेन्स आपसमा मर्ज हुन लागेका हुन्।

हाल प्राइम लाइफको २ अर्ब ७७ करोड रुपैयाँ, गुराँस लाइफको २ अर्ब ८ करोड रुपैयाँ र युनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ चुक्तापुँजी रहेको छ। यी तीन कम्पनी मर्ज भएपछि चुक्तापुँजी ७ अर्ब १ करोड ३८ लाख रुपैयाँ बढी हुनेछ। यसका लागि १ः१ अनुपातमा यी तीन कम्पनी मर्ज हुनुपर्छ। यो चुक्तापुँजी भनेको जीवन बीमा कम्पनीहरुमै दोस्रो ठूलो हुनेछ। हाल नेपाल लाइफ इन्स्योरेन्सको चुक्तापुँजी सबैभन्दा धेरै रहेको छ।
आपसमा मर्जमा जानुको मुख्य उद्देश्य कम्पनीको पुँजीगत आधारलाई मजबुत र सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्दै बीमित, लगानीकर्तालगायत सरोकारवालाको दीर्घकालीन हित संरक्षण गर्नु रहेको तीनै कम्पनीले जनाएका छिन्। यसका साथै तीनै कम्पनीको वित्तीय, मानव संशाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि गर्दै सेवाग्राहीलाई आधुनिक प्रविधिजन्य बीमा सेवासुविधा प्रदान गर्न सक्ने अवस्था सिर्जना गर्ने, मुलुकमा जीवन बीमालाई सुशासित, सुरक्षित, स्वस्थ्य, कुशल तथा सक्षम एवं प्रभावकारी बनाउन सहयोगी भूमिका निर्वाह गर्ने र मुलुकको समग्र जीवन बीमा प्रणालीको सम्वर्द्धन गरी सोप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्दै बीमितको हित संरक्षण गर्ने उद्देश्य तीनै कम्पनीले लिएका छन्।

Advertisement
Advertisement

सम्बन्धित समाचार