काठमाडाैं । सरकारले सवारी साधनमा लागू तेस्रो पक्ष बीमाको बीमांक रकम दोब्बर बनाउने घोषणा गरेसँगै निर्जीवन बीमा कम्पनीहरूको सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ।
बजेटमार्फत गरिएको उक्त व्यवस्थापछि बुधबार नेप्से सामान्य रूपमा २.६६ अंकले बढ्दा निर्जीवन बीमा समूहको सूचक भने ३.३७ प्रतिशतले उकालो लागेर ११,६३७ विन्दुमा पुगेको छ। यसअघि एक वर्षको अवधिमा १३,७०५ विन्दुसम्म पुगेको यो सूचक पछिल्लो समय सुस्त गतिमा रहेको थियो।
नेपाल बीमा प्राधिकरणले तोकेको दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी व्यवस्थापछि मूल्यमा दबाब देखिएको यस क्षेत्रका कम्पनीहरू अहिले नयाँ व्यवसायिक अवसरको आशामा पुनः सक्रिय देखिएका छन्।
विशेषगरी बजेटमा गरिएको बीमांक रकम वृद्धि र बीमाको दायरा विस्तारको घोषणाले दीर्घकालीन रूपमा आम्दानी बढ्ने अपेक्षा गरिएको छ। यसै कारण लगानीकर्ताहरूले यसलाई सकारात्मक संकेतका रूपमा लिँदै खरिद चाप बढाएका छन्।
बुधबार नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सको सेयर मूल्य ५.३१ प्रतिशतदेखि ६.१७ प्रतिशतसम्म बढेको छ।
सरकारले तेस्रो पक्ष बीमाको बीमांक रकम ५ लाखबाट १० लाख रुपैयाँ पुर्याउने निर्णय गरेको हो। यसअन्तर्गत बीमितले तिर्ने शुल्कमा ३० प्रतिशत वा सोभन्दा बढी वृद्धि हुन सक्ने अनुमान बीमा प्राधिकरणले गरेको छ। अन्तिम शुल्क भने दर निर्धारण समितिले तय गर्नेछ।
हाल निजी सवारी साधनका लागि तेस्रो पक्ष बीमामा वार्षिक करिब १,५२० रुपैयाँदेखि ६,००० रुपैयाँभन्दा बढी शुल्क तिर्नुपर्ने अवस्था छ।
बजेटले दुर्घटना बीमा, घातक रोग बीमा तथा ढुवानी सेवा बीमालाई पनि विस्तार गर्ने व्यवस्था गरेपछि निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय थप वृद्धि हुने अपेक्षा गरिएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूले कुल ३७ अर्ब रुपैयाँ बीमा शुल्क (प्रिमियम) आर्जन गरेका छन्। यसमध्ये मोटर बीमाबाट मात्रै ११ अर्ब ५० करोड रुपैयाँ आम्दानी भएको छ।
बीमा प्राधिकरणका अनुसार मोटर बीमा प्रिमियमको करिब २६ प्रतिशत हिस्सा तेस्रो पक्ष बीमाबाट आउने गरेको छ, जुन करिब ३ अर्ब रुपैयाँ बराबर हो।
शुल्कमा ३० प्रतिशत मात्र वृद्धि भए पनि तेस्रो पक्ष बीमाबाट हुने आम्दानी करिब ९० करोड रुपैयाँले बढ्न सक्ने अनुमान गरिएको छ।
मोटर बीमाबाट बढी आम्दानी गर्ने प्रमुख पाँच कम्पनीहरू सगरमाथा लुम्बिनी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेका छन्।
यीमध्ये सगरमाथाको मोटर बीमा आम्दानी १ अर्ब ६३ करोड, शिखरको १ अर्ब ४४ करोड, हिमालयन एभरेस्टको १ अर्ब १७ करोड, सिद्धार्थ प्रिमियरको १ अर्ब १४ करोड र आइजीआई प्रुडेन्सियलको १ अर्ब रुपैयाँ पुगेको छ।
तेस्रो पक्ष बीमाको शुल्क वृद्धि भएमा यी प्रमुख कम्पनीहरूले नै बढी लाभ लिन सक्ने अनुमान गरिएको छ। यद्यपि, बीमांक रकम बढेसँगै दाबी भुक्तानी पनि बढ्ने भएकाले आम्दानीको सबै प्रभाव नाफामा प्रत्यक्ष रूपमा नदेखिन सक्ने विश्लेषण गरिएको छ।