free website hit counter

त्यो कुनै झडप थिएन, नियोजित आक्रमण थियो : ज्ञानेन्द्र शाही

beemaadmin
२०७८ जेष्ठ ३०, आईतवार

काठमाडौं । यहाँ विधि, पद्दति र सुशासनको कुरा गर्नेहरु सुरक्षित हुँदैनन् । मुलुकको कार्यकारी प्रमुखले आफू भ्रष्टाचारीको मुखै हेर्दिन भन्दा पनि तल्लो तहका मासिन किन त्यो अभियानमा लाग्न सक्दैनन् ? युवा अभियन्ता ज्ञानेन्द्र शाहीले आफूमाथि सुर्खेतमा हिजो सुनियोजित आक्रमण भएको दावी गरेका छन् । प्रहरीले दुई समूहबीच झडप भएको बताए पनि शाहीले त्यसलाई अस्वीकार गर्दै भनेका छन् आफूहरुलाई लक्ष्यित गरी आक्रमण गरिएको हो । उनीहरु सबैले मदिरा सेवन गरेका व्यक्ति भएको बताउने शाहीले प्रतिकार गर्नसक्ने अवस्था नभएको बताएका छन् ।

यस्तो थियो घटनाको शब्दचित्र

हामी सुर्खेतमा निशुल्क स्वास्थ्य सामग्री वितरणका लागि गएका थियौं । शुक्रबार हामी वीरेन्द्रनगर नगरपालिका १३ मा थियौं ।

राति खाना खानका लागि हामी त्यहाँबाट केही टाढा गडगडे भन्ने ठाउँमा एक अभियन्ताको घरमा गयौं । त्यहाँ खाना खाइवरी फर्किने क्रममा बाटोमा हामीमाथि आक्रमण भयो ।

हामी दुईवटा गाडी र एउटा मोटरसाइकलमा थियौं । म चाहिँ गाडीमा थिएँ । राति १० बजेतिर बाटोमा आउँदै गर्दा बाटोमा अवरोध खडा गरिएको रहेछ । युद्धकालमा माओवादीले जसरी रुख ढालेर बाटो अवरोध गरेजस्तै बाटोमा ठूला ढुंगा थुपारेर अवरोध गरिएको थियो ।

हामी रोकिनासाथ १०र१२ जनाको समूह हामीमाथि जाइलाग्यो । सुरुमा मोटरसाइकलमा रहका साथीहरुलाई थुतेर फालियो । अनि हामी सबैलाई गाडीबाट निकालेर ढुंगा, भाटाले प्रहार हुन थाले ।

आक्रमण सुरु हुनासाथ म अलिकति छलिएर जिल्ला प्रहरी कार्यालयका एसपीसाब राजेन्द्र भट्ट र सुर्खेतका सिडिओ फणिन्द्रमणि पोखरेललाई फोन लगाएर जानकारी दिएँ । उहाँहरुले प्रहरी पठाउँछु भन्नुभयो । त्यसपछि लगत्तै इन्सपेक्टर कनक शाहीसँग कुरा भयो । शाहीले मलाई नजिकै रहेको मकैबारीमा लुक्न सुझाव दिनुभयो ।

उहाँले भनेजस्तै म भागेर मकैबारीमा लुकेँ । हलचल नगरी बसेँ । आक्रमणकारीहरु मोबाइलमा फोटो हेर्दै मर्लाइ खोजिरहेका थिए । मेरो नम्बरमा धेरैपटक फोन पनि गरेछन् । तर, संयोगले त्यसबेला मेरो मोबाइल एकजना सहयोगीसँग साटिएको थियो ।

घटना भएको ४५ मिनेटपछि मात्रै प्रहरीको टोली आयो । जबकि जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा आउन मोटरसाइकलमा १० मिनेटजति मात्रै लाग्छ । एक घन्टापछि अर्को टोली पनि आयो ।

प्रहरीले हामीलाई तत्काल उद्दार गरेर अस्पताल लैजानुको साटो सोधपुछ गर्न थाल्यो । सोधपुछ सकिएपछि हामी आफ्नै गाडीमा अस्पताल गयौं । म गाडी हाँक्न सक्ने अवस्थामा पनि थिइनँ । मेरो चश्मा फुटेकाले आँखा राम्ररी देखेको पनि थिइनँ । तर अरु उपाय नभएपछि एकजना बहिनीलाई साइडको सिटमा राखेर बाटो देखाउन लगाएँ र मैल स्टेयरिङ घुमाएँ ।

आक्रमणकारी कोही पनि मैले चिनेको छैन । प्रहरीले ५ जनालाई पक्राउ गरेको छ, तर मुख्य आक्रमणकारी अझै पक्राउ परेका छैनन् । यो घटना पूर्णरुपमा सुनियोजित देखिन्छ । उनीहरु सबैले मदिरासेवन गरेका थिए । हाम्रो समुहले पनि मदिरा सेवन गरेको भनेर आइरहेको कुरा नितान्त गलत हो । अस्पतालमा हामी सबैको परीक्षण नेगेटिभ आएको छ ।

घटनालाई दोहोरो झडप भनेर प्रहरीले गलत प्रचार गरिरहेको छ । हामीले प्रतिकार गर्न सक्ने अवस्था नै थिएन । उनीहरुले घेरेपछि मैले त हात जोडेर हामीलाई छोडिदेओ भनेर रोइकराइ गरिरहेको थिएँ ।

त्यही दिन मात्रै हामीले निशुल्क वितरणका लागि भनेर ल्याएका सामग्री एयरपोर्टमा रोकिएपछि एक मन्त्रीसँग मेरो विवाद भएको थियो । मलाई लाग्छ हामीलाई आक्रमण गर्न राज्य संयन्त्रकै हात छ । प्रहरी एक घन्टा ढिला आउनु र हामीलाई तत्काल उद्दार नगर्नुले पनि उनीहरुको मिलेमतो देखिन्छ । तर, फिल्डमा खटिएका प्रहरीको दोष छैन । उनीहरुर्लाइ आदेश नै त्यस्तो थियो ।

म जिल्ला प्रशासन कार्यलयमा आक्रमणकारीमाथि ज्यानमुद्दा दायर गर्ने तयारीमा छु । आक्रमणकारी कोही पनि नचिनेकाले किटानी जाहेरी दिने अवस्था छैन । मेरा ६ जना अभियन्ता साथीहरु घाइते भएका छन् । म आफैंलाई चाहिँ धेरै चोट लागेन । मकैबारीमा लुकेर बाचेँ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार