free website hit counter

दर्जनौं अपराधका नेपालका मोस्ट वान्टेड अपराधी भारतबाट पक्राउ

beemaadmin
२०७८ असार ९, बुधबार

मुम्बई । खुला सिमाना र सहज आउजाउ गर्न सकिने कारण नेपालमा अपराध गरेर भारततिर बेपत्ता हुने तथा भारतमा अपराध गरेर नेपालमा भूमिगत हुनेहरुको संख्या ठूलो छ । नेपालमा अपहरण गरेर डेढ करोड फिरौती माग्दा फिरौती नपाएपछि अपहरित व्यक्तिको हत्या गरेर फरार कुख्यात अपराधी भारतमा पक्राउ परेका छन् । इन्टरपोलको रेड कर्जर नोटिसपछि भारतको बिहार राज्यको सुपौल पुलिसले नेपालमा अपराध गरेर फरार राजकुमार यादवलाई पक्राउ गरेको हो । उनीमाथि सिराहा जिल्लाको बैरियापट्टीका सोमनाथ यादवको अपहरणपछि हत्या सहित दर्जनौं अपराधको आरोप छ । राजकुमारले गएको ९ अप्रिलमा सोमनाथको अपहरण गरेका थिए । त्यसपछि उनको गिरोहले डेढ करोड नेपाली रुपैयाँ फिरौती मागेका थिए । फिरौती नपाएपछि उनीहरुले १९ अप्रिलमा सोमनाथको गोली हानेर हत्या गरी फरार भएका थिए । सुपौलका एसपी मनोज कुमारका अनुसार हरयाणाको गुरुग्राममा पक्राउ परेका उनलाई बिहीबार सुपौल ल्याइएको हो । टाइम्स अफ इण्डियाका अनुसार राजकुमारको पहिचानका लागि नेपाली अधिकारीहरु र पीडित सोमनाथका परिवार समेत सुपौल गएका थिए । पहिचानपछि राजकुमारलाई जेलमा हालिएको छ ।
राजकुमार नेपालमा फिरौतीका लागि अपहरण र हत्याका विभिन्न १३ केसमा वान्टेड छन् । यीमध्ये १२ केस सिराहा जिल्लाका फरक फरक पुलिस स्टेशनमा दर्ता भएका छन् भने एउटा केस सप्तरी जिल्लामा छ । उनी बम विष्फोटको केसमा समेत वान्टेड छन् । नेपाली वा माओवादी नामले समेत चिनिने राजकुमार नेपाली नागरिक हुन् । उनका सिराहामा पत्नी र २ छोराछोरी छन् । एसपी मनोज कुमारका अनुसार राजकुमार आफ्नो पहिचान लुकाउन गुरुग्राममा बेकरीमा काम गरेर बसेका थिए ।

सम्बन्धित समाचार