free website hit counter

दशैंको खानपानले रोग नबढोस्

beemaadmin
२०७९ आश्विन १६, आईतवार

हाम्रो समाजमा अझै पनि ऋण काढेर भए पनि दशैंमा मिठो मिठो खाने, खुवाउने चलन छ । त्यसमा पनि विशेषगरी गुलियो, चिल्लो, पिरो, अल्कोहल तथा मासुका विभिन्न परिकारले दशैंमा बढी स्थान पाउँछन् । यसरी घरपरिवार र आफन्त खुसी पार्न खुवाएको परिवारले कतै उनीहरूको स्वास्थ्यमा असर पारिरहेको त छैन ? ख्याल गर्न जरुरी छ । नेपालका अधिकांश दुरदराजमा अस्पतालको पहुँच छैन । पहुच भएका स्थानमा पनि सधै चिकित्सक वा स्वास्थ्यकर्मी हुन्छन नै भन्ने हुँदैन । त्यसैले चाडपर्बका बेला आफ्नो स्वास्थ्यमा पनि ख्याल गरौं अरुको स्वास्थ्यमा पनि ख्याल गरौं । दशैं हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौं दिन बिहान टीका (प्रसाद ग्रहण र विशेष रुपमा पुर्णिमासम्म) मनाउने गरिन्छ । विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ । आश्विन महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । भगवान रामले यसै दिन रावणको बध गरेका थिए । यसलाई असत्यमाथि सत्यको विजयको रूपमा लिईन्छ । यसकारण, दशमीलाई विजया दशमी भनिएको हो । वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूर्णिमासम्म गरिन्छ । आफ्ना नाता कुटुम्ब र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँनयाँ कपडा लगाउने, आफ्नो क्षमताअनुसार मिठो खाना खाने खुवाउने, घर आँगन, बाटोघाटो, गाउँ वस्ती सफासुग्गर राख्ने जस्ता काम उत्साहका साथ गरिन्छ ।

स्वास्थ्यसँग जोडिएका सवाल
बडादशैं वा बिजया दशमी चाड नेपालीको घर आँगनमा भित्रिसकेको छ । दशैंमा मिठो मिठा खाने चाहाना सबैलाई हुन्छ । तर, बिरामीहरूले भने खानामा विशेष ध्यान दिनुपर्छ । कतिपयले खानेकुरा नियन्त्रण गर्नुपर्ने हुन्छ । सानो सानो कुरामा ध्यान नदिँदा स्वास्थ्यमा झनै गम्भीर समस्या पर्न जान्छ । दशंैमा धेरैले चिल्लो, पिरो, अल्कोहल र धुम्रपानको प्रयोग गर्ने चलन छ । रोगीका लागि सबै भन्दा घातक नै यिनै कुराहरू हुन् । यी तीन चिज एकै पटक धेरै हुँदा खतरा झनै बढी भई हाम्रो स्वास्थ्य झन् बिग्रन जान्छ । तत्काल उपचार पाउन पनि सबै ठाउँमा सम्भब हुँदैन । प्रेसर, डाइबेटिज, मुटुका रोगीले सादा खाना र उमालेको पानि प्रशस्त पिउने, केटाकेटी र बुढापाकालाइ एकैचोटी धेरै खानेकुरा नदिने, घरमै पकाएको खानेकुरा खाने, एउटै तेल र खानेकुरालाई पटक पटक तताएर पुनः प्रयोग नगर्ने, त्यस्तो खानामा क्यान्सर निम्त्याउने टक्सिस हुन्छ । मरमसला कम गर्ने, फ्रिजमा धेरै दिन राखेको पेयपदार्थ नखाने आदि साधारण उपायहरू अबलम्बन गर्न सके दशैंको दशाबाट जोगिन सकिन्छ । ऋण काढेर भएपनि दशैं भव्यताका साथ मनाउनु पर्छ भन्ने गलत सोच तिव्र रुपमा विकास भइरहेको छ । तर, आफ्नो हैसियत अनुसार चाडपर्व मनाउनु बुद्धिमता हुन्छ । दशैंमा ऋण काँढेर भए पनि नयाँ लुगा लगाउने र सिंङ्गो खसी ढाल्ने होडबाजी पनि छ । जसले गर्दा पनि दशै भड्किलो बन्दै गएको छ । परम्परागतदेखि चल्दै आएको एउटा उखान छ ‘दशैं आयो ढोल बजाई, गयो दशैं ऋण बोकाई।’ दशैंमा विशेषगरी चिल्लोयुक्त खानेकुरा तथा मासुका विभिन्न परिकार बनाएर खाने चलन बढि हुन्छ । मासुको अत्याधिक सेवन गर्दा दशैं मनाउन भनेर आएका आफन्तजन र पाहुनाहरू बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था समेत आउने गरेको छ । सोही कारण दशैंमा मासुका परिकारको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न जरुरी छ । मासुमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिङ्क, भिटामिन बी, पोटासियमजस्ता तत्व पनि पाइन्छन् । यी तत्व हाम्रो शरीरका लागि आवश्यक तत्व हुन् ।

मासुको अत्याधिक प्रयोग
दशैंमा बढी प्रयोग हुने परिकार मध्ये मासु कै परिकार हो । सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ । तर, मासुबाट प्राप्त हुने तत्व त्यति सजिलैसँग भने प्राप्त गर्न सकिँदैन । हामीले राम्रोसँग सुरक्षित ढङ्गले राख्न नजानेमा त्यही मासुबाट विभिन्न भयानक किसिमका रोग उत्पन्न हुने, सर्ने खतरा रहने, दैनिक अत्यधिक रातो मासुको प्रयोगले मानिसको संवेदनशील अङ्ग मुटुमा असर पार्नुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछ । एकै पटक धेरै मासु खाँदा शरीरमा भएका बलिया हड्डी समेत कमजोर हुनजान्छ । साथै आर्थाइटिस ९हाडजोर्नी सम्बन्धी रोग० को सम्भावना अत्यधिक हुनुका साथै महिलामा स्तन क्यान्सरको खतरा समेत हुन्छ । मासुपसलमा भएका लापरबाहीका कारण मानिसमा धेरैजसो ब्याक्टेरियाको सङ्क्रमण हुने गरेको देखिन्छ । बिरामी पशु वा काँचो मासु खाँदा जुकाका लार्भाहरू शरीरमा प्रवेश गर्ने तथा मासुमार्फत विभिन्न खालका रोग सर्ने खतरा हुन्छ । मासु र अन्य परिकारलाई स्वस्थकर ढङ्गले नराख्दा खानेकुरामा विषाक्ता बढी प्वाइजनिक हुनपुग्छ । खाएको केही समयभित्रै पेट बटारिने, पेट ढुस्स पर्ने, झाडापखाला चल्ने, अपच भई तत्कालै पेट फुल्ने लगायतका समस्या देखिने हुन्छ ।

मासु खाँदा ध्यान दिनुपर्ने कुरा
फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखानु राम्रो, बासी तथा खुला स्थानमा राखेको मासु पनि नखाने, काँचो मासुको परिकार होडबाजी गरेर कुनै पनि हालतमा नखाने, पोलेका मासु (सेकुवा, हाकु छोइला आदि) सकेसम्म नखाए कै राम्रो, राम्ररी सफासँग गरेको र राम्ररी पाकेको मासुमात्र खाने, विभिन्न किसिमको धेरै मसला तथा तेलीय पदार्थ कम प्रयोग गर्ने, बोसो तथा छालारहित मासुको प्रयोगमा जोड दिनुपर्छ ।

कस्तो मासु उपयोगी
मासु हलुका गुलाबी रङको हुनु हुँदैन, मासु हरियो तथा प्याजी रङको भएमा त्यो खान योग्य मानिदैन, मासुबाट कुनै किसिमको अमिलो, बिग्रिएको गन्ध आउनु हुँदैन, मासु फ्रिजमा अलग–अलग गरी छोपेर सफा र चालू फ्रिजमा राख्नु राम्रो मानिन्छ । मासु काट्दा र समाउँदा तन्केको जस्तो हुनुहुँदैन । मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार सफा हुनुपर्छ । त्यस्तै दशैंमा बिशेष गरी चिल्लो, गुलियो लगायतका बिभिन्न परिकार खाने गरिन्छ । हाम्रो बानी भेटेका बेला सबै एकैचोटी खाने छ । यो स्वास्थ्यका राम्रो मानिदैन । चाडपर्बका समयमा स्वास्थ्यलाई पनि मध्यनजर गरिनुपर्छ । अझ हत्या, हिंसा नगरी बलिरहित चाडपर्ब मनाउने सके सबै भन्दा उत्तम हुन्छ ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार