free website hit counter

दशैंको मुखमा गाडीको सीट फूल

beemaadmin
२०७७ आश्विन २७, मंगलवार

काठमाडौँ । कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको अवस्थामा पनि सरकारले सार्वजनिक बसमा सिट फुल बनाएर कुदाउने व्यवस्था गरेको छ । यसअघि हवाई यातायातमा पनि सिट फुल गर्ने व्यवस्था सरकारले गरिसकेको थियो ।

कोरोना भाइरसको महामारी बढे पनि सरकारले चाडबाडलाई लक्षित गरी सार्वजनिक यातायातमा सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ । सबै सिटमा यात्रु राख्न दिने निर्णयसँगै भाडादर पनि पूरानै कायम गरिएको छ । यसअघि सरकारले सार्वजनिक सवारीमा आधा सिटमा मात्रै यात्रु राख्न पाइने र साविकको भाडा भन्दा दोब्बरसम्म लिन पाउने निर्णय गरेको थियो । दशैँको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पूरा क्षमतामा यात्रु राख्न दिने र भाडा पूरानै लिनुपर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । यद्यपि यसबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखोल्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीमा नाका थप एक महिना नखोल्ने निर्णय भएको ती मन्त्रीले जानकारी दिए । यसअघि नेपालसँग सीमा जोडिएका अन्तराष्ट्रिय सीमा नाका असोज मसान्तसम्म बन्द गर्ने निर्णयलाई निरन्तरता दिँदै थप एक महिना नखोल्ने निर्णय गरेको उनले बताए । त्यस्तै बैठकले मानवअधिकारसम्बन्धी ५ वर्षीय कार्ययोजना पारित गरेको उनले बताए । यसैगरी सरकारले नेपालीहरुको ठूलो चाड दशैँ यथास्थानमा मनाउन आह्वान गर्ने समेत निर्णय गरेको उनले बताए ।

सम्बन्धित समाचार