काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा जीवन बीमा कम्पनीहरूबाट २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको बीमा पोलिसी सरेण्डर भएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्बअनुसार साउन र भदौ महिनामा बीमितहरूले २ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ बराबरको बीमालेख समर्पण गरेका हुन्।
उक्त रकम गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा २.९४ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको साउन र भदौमा जीवन बीमा कम्पनीहरूबाट २ अर्ब ५० करोड ७ लाख रुपैयाँ बराबरको बीमालेख सरेण्डर भएको थियो।
यद्यपि, बीमालेख समर्पण गर्ने बीमितको संख्या भने घटेको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १४ हजार ९९६ जनाले बीमालेख समर्पण गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या १५ हजार ८९८ रहेको थियो। यसअनुसार बीमालेख समर्पण गर्नेको संख्या ५.६७ प्रतिशतले घटेको हो।
व्यतित बीमालेखको रकम र संख्या पनि घट्यो
जीवन बीमा कम्पनीहरूमा नवीकरण नभएका अर्थात् व्यतित बीमालेखको रकममा समेत कमी आएको छ। चालु आर्थिक वर्षको साउन र भदौसम्म व्यतित बीमालेखको रकम ३५ अर्ब ५९ करोड ६९ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ३६ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ थियो। यसअनुसार व्यतित बीमालेखको रकम २.३० प्रतिशतले घटेको छ।
त्यस्तै, नवीकरण नभएका बीमालेखको संख्यामा पनि १६.६९ प्रतिशतले कमी आएको छ। समीक्षा अवधिमा १० लाख १० हजार ९९६ वटा बीमालेख नवीकरण भएका छैनन्। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या १२ लाख १३ हजार ५६२ रहेको थियो।
यसरी चालु आर्थिक वर्षको पहिलो दुई महिनामा बीमालेख समर्पण गर्नेको संख्या र नवीकरण नभएका बीमालेखको रकम तथा संख्यामा कमी आएको देखिएको छ।