free website hit counter

दुध बेच्न ४८ करोडमा हेलिकप्टर, खेतमा हेलिप्याड

beemaadmin
२०७७ फाल्गुन ८, शनिबार

काठमाडौं। मान्छेले आफ्नो उत्पादन बिकाउन के गर्दैन । किसानले आफ्नो गाईभैसीको दूध बेच्न मोटरसाइकलमा गाग्री बाँधेले कुदेका दृश्य त हाम्रा लागि सामान्य भइसकेका छन् । एक किसानले दूध बेच्नको लागि ४८ करोड रुपैयाँ खर्च गरेर हेलिकप्टर किनेका छन् । खबर सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । भारतको महाराष्ट्रको ग्रामीण क्षेत्र भिंवडीका किसान जनार्दन भोइरले ३० करोड भारु (४८ करोड नेपाली रुपैयाँ) खर्च गरेर हेलिकप्टर किनेका हुन् । डिएनए इण्डियाको रिपोर्टअनुसार दूध व्यवसायी जनार्दनले आफ्नो व्यवसायको सिलसिलामा देशैभरी जानुपर्ने भएकोले समयको बचतको लागि हेलिकप्टर किनेका हुन् ।
आइतबार ट्रायलको लागि हेलिकप्टर उनको गाउँमा ल्याइएको थियो । भोइरले हेलिकप्टरमा राखेर गाउँ पञ्चायतमा नयाँ निर्वाचित सदस्यहरुलाई घुमाए । जनार्दनसँग १०० करोडभन्दा धेरैको सम्पत्ति भएको बताइन्छ । जनार्दन अहिले यो हेलिकप्टरको ट्रायल गर्दैछन् । दूध उत्पादक किसान हुनुका साथै उनी रियलस्टेट व्यवसायी पनि हुन् । कामको सिलसिलामा उनी देशको पूर्वदेखि पश्चिमसम्म जानुपर्छ । उनी जानुपर्ने कैयौं क्षेत्रहरुमा हवाइ यात्राको सुविधा नभएका कारण उनको समय बर्बाद भइरहेको थियो । त्यसपछि एक मित्रको सल्लाहअनुसार उनले हेलिकप्टर किनेका हुन् । जनार्दनका अनुसार दूध र दूधजन्य अन्य पदार्थको व्यवसायको सिलसिलामा उनी पञ्जाब, गुजरात, राजस्थान र पूर्वी राज्यहरुमा जानुपर्छ ।
जनार्दनले आफ्नो घरनजिकै खेतमा हेलिप्याड बनाएका छन् । यहाँ पाइलटको निवास, प्राविधिक कक्ष बनाउने तयारी भइरहेको छ । जनार्दनका अनुसार १५ मार्चमा उनले हेलिकप्टर पाउनेछन् । उनले आफूसँग भएको अढाइ एकड जमिनमा वरिपरि घेरेर हेलिप्याड र अन्य संरचना बनाउनेछन् ।

सम्बन्धित समाचार