free website hit counter

दुर्घटना भएको सौर्य एयरलाइन्सको बीमा प्रभु इन्स्योरेन्समा, ३० करोडको दावी पर्ने

beemaadmin
२०८१ श्रावण १०, बिहीबार

काठमाडौं । बधुबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजको बीमा प्रभु इन्स्योरेन्सले गरेको खुलेको छ । प्रभु इन्स्योरेन्सका एक उच्च अधिकारीले उक्त जहाजको बीमा आफ्नो कम्पनीमा भएको स्वीकार गरे । सौर्यको सीआरजे २०० जहाज प्राविधिक परीक्षणका लागि पोखरा जाने क्रममा ११ः११ मा दुर्घटना भएको थियो । जहाज खसेर आगलागी भएपछि पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने जहाजका क्याप्टेनबाहेक बाँकी १८ जनाको मृत्यु भएको छ । क्याप्टेन मनिष शाक्यको भने केएमसी अस्पतालमा उपचार भइरहेको छ । जहाजमा प्रायः कम्पनीका उच्च व्यवस्थापन कर्मचारी, प्राविधिक सवार थिए । यस दुर्घटनाबाट प्रभु इन्स्यारेन्सले ३० करोड रुपियाँभन्दा बढी दावी भुक्तानी गर्नुपर्ने अनुमान गरेको छ । सर्भे रिपोर्टपछि मात्रै यसको अन्तिम विवरण यकिन हुनेछ । हाललाई ३० करोड रुपियाँ हाराहारीमा दावी पर्ने अनुमान गरेको कम्पनीले जानकारी दिएको छ । सरकारी नियमनअनुसार चालक दलका सदस्यबाहेक सर्वसाधारण यात्रु र कम्पनीकै कर्मचारीको आन्तरिक उडानमा २० हजार डलरको अनुपातमा बीमा गरिएको हुन्छ । चालक दलका सदस्यको भने न्यूनतम् ५० हजार डलरको बीमा गरिएको हुन्छ । यस्तो बीमा पाइलटहरुको हकमा एक लाख डलरसम्म हुने गरेको वायुसेवा कम्पनीहरुको भनाई छ । त्यो अनुसार दुर्घटनामा मृत्यु भएका यात्रुको नाममा आफन्तले प्रतिमृतक यात्रु २० हजार डलर (२६ लाख ८४ हजार रुपियाँ) पाउनेछन् ।  दुर्घटना भएको जहाजमा को–पाइलटबाहेक अरु एयरलाइन्सकै कर्मचारी र उनका परिवार हुन् । उनीहरुको बीमा दावी पाँच करोडभन्दा बढी रहने बताउँदै बाँकी रकम जहाजको बीमावापत रहने कम्पनीको प्रारम्भिक अनुमान छ । घाइते पाइलटको उपचारमा भएको खर्च पनि बीमा कम्पनीले नै बेहोर्नुपर्नेछ । यो बाहेक क्षतिग्रस्त जहाजको पनि दावी पर्नेछ । त्यसको दायित्व बीमा कम्पनीले बेहोर्नुपर्नेछ । जहाज दुर्घटना हुँदा तेस्रो पक्षलाई पुर्याएको क्षतिको पनि दावी भुक्तानी गर्नुपर्छ । यो बाहेक उद्दार कार्यमा भएको खर्चको दायित्व पनि बीमा कम्पनीले नै गर्नुपर्नेछ । उद्दार कार्यमा खटिएका नेपाली सेना, नेपाली प्रहरी, एम्बुलेन्स र अस्पताल लगायतको बिलको आधारमा बीमा कम्पनीले दावी भुक्तानी दिनेछ । तीस करोडको दावी परे पनि यसले प्रभु इन्स्योरेन्सको वित्तीय अवस्थामा कुनै असर गर्ने छैन । यसमा ०.३ प्रतिशत जोखिम मात्रै कम्पनीले राखेको छ । बाँकी ९९.७ प्रतिशत जोखिम भने पुनर्बीमामार्फत विदेशी कम्पनीहरुलाई हस्तान्तरण गरिएको छ । यसअनुसार प्रभु इन्स्यारेन्सले नौदेखि दश लाख रुपियाँ मात्रै तिरे पुग्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार