काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठलाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार नियुक्त भएका दुवै अध्यक्षले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका हुन्। दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले सोही अवसरमा पद तथा गोपनीयताको शपथसमेत लिएका छन्।
नियुक्तिपत्र हस्तान्तरण गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारीमा आएका दुवै अध्यक्षले सम्बन्धित संस्थाको प्रभावकारी नेतृत्व गर्ने विश्वास व्यक्त गरे। उनले दूरसञ्चार तथा सञ्चार क्षेत्रको सुधार र संस्थागत सुदृढीकरणमा नयाँ नेतृत्वबाट उल्लेखनीय योगदान हुने अपेक्षा रहेको बताए।
प्रेस काउन्सिल नेपालको अध्यक्ष उमेश श्रेष्ठले सञ्चार क्षेत्रको स्वरूप परिवर्तन भइसके पनि प्रेस काउन्सिलसम्बन्धी कानुन समयानुकूल नभएको उल्लेख गर्दै त्यसको संशोधन आवश्यक रहेको बताए। उनले पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्दै स्वनियमन प्रणालीलाई थप सुदृढ बनाउने आफ्नो प्राथमिकता रहने बताए।
श्रेष्ठले सरकार र सञ्चार क्षेत्रबीच विश्वासको पुलका रूपमा काउन्सिलले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रेस स्वतन्त्रताको संरक्षणसँगै जिम्मेवार पत्रकारिताको प्रवर्द्धनमा सक्रिय रहने धारणा राखे।
यस्तै, दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार क्षेत्रका विद्यमान समस्या समाधान, सेवा विस्तार तथा सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। उनले कानुन, नियम र नीतिको परिधिभित्र रहेर दूरसञ्चार क्षेत्रको विकास र सेवाको गुणस्तर सुधारमा ध्यान केन्द्रित गर्ने बताए।