काठमाडौं । नेपाली कांग्रेसले पार्टीको चुनाव चिह्न र सिफारिसमा निर्वाचित जनप्रतिनिधि अन्य दलका महाधिवेशनलगायतका कार्यक्रममा सहभागी भए कारबाही गर्ने चेतावनी दिएको छ। पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधि अर्को दलको महाधिवेशन प्रतिनिधि बन्ने विषय स्वीकार्य नहुने कांग्रेसले स्पष्ट पारेको छ।
शेरबहादुर देउवा समूहले पार्टीका जनप्रतिनिधिलाई आगामी महाधिवेशनमा स्वतः प्रतिनिधि बनाउने घोषणा गरेपछि कांग्रेसले यस्तो धारणा सार्वजनिक गरेको हो।
कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री प्रकाश रसाइलीले पार्टीको चुनाव चिह्न र सिफारिसमा निर्वाचित भएर अर्को दलका गतिविधिमा संलग्न हुने जनप्रतिनिधिमाथि कारबाही गरिने बताएका छन्।
रसाइलीका अनुसार पार्टीको नीति र हितविपरीत गतिविधिमा संलग्न जनप्रतिनिधिमाथि अहिले पनि कारबाही भइरहेको छ। आगामी दिनमा पनि पार्टीविरोधी गतिविधि गर्ने जोकोही जनप्रतिनिधि कारबाहीको दायरामा आउने उनले स्पष्ट पारे।
उनले पार्टीको निर्णयविपरीत गतिविधि गर्ने जनप्रतिनिधिको पदसमेत गुम्न सक्ने चेतावनी दिएका छन्।
कांग्रेसको यो चेतावनीले पार्टीभित्र महाधिवेशन प्रतिनिधि चयन र जनप्रतिनिधिको भूमिकालाई लिएर थप बहस हुने देखिएको छ।