free website hit counter

देउवा दम्पत्तिलाई नेपाल ल्याउने के छ कानुनी व्यवस्था ?

beemaadmin
२०८२ चैत्र २६, बिहीबार

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा। आरजु राणा देउवाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ। गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत, काठमाडौंबाट उनीहरूविरुद्ध पक्राउ पूर्जी लिएको हो।

हाल देउवा दम्पती विदेशमा रहेका छन्। उपचारका लागि सिंगापुर गएका उनीहरू अहिले हङकङमा रहेको बुझिएको छ।

जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित उनीहरूको निवासमा आगजनी हुँदा ठूलो परिमाणमा नगद भेटिएको भिडियो सार्वजनिक भएको थियो। सोही घटनासँग सम्बन्धित सम्पत्ति र पैसामाथि विभागले अनुसन्धान गरिरहेको छ।

अदालतबाट पक्राउ पूर्जी जारी भए पनि उनीहरू विदेशमा रहेकाले तत्काल पक्राउ गर्न प्रहरीलाई कठिनाइ भएको छ।

नेपाल प्रहरी स्रोतका अनुसार अब म्याद तामेली निर्देशिका, २०७५ अनुसार प्रक्रिया अघि बढाइनेछ। निर्देशिकाअनुसार पक्राउ पूर्जी जारी भएको व्यक्ति सात दिनभित्र फेला नपरेमा प्रहरी उक्त व्यक्तिको खोजी गर्दै घर ठेगानामा पुगेर ३५ दिने पक्राउ पूर्जीको प्रति परिवारका वयस्क सदस्यलाई बुझाउनुपर्छ।

यदि परिवारका सदस्य भेटिएनन् वा पूर्जी बुझ्न अस्वीकार गरेमा, उक्त पूर्जी घरको ढोकामा टाँस गरेर तामेल गरिन्छ। यस प्रक्रियामा स्थानीय तहका प्रतिनिधि वा कम्तीमा दुई जना स्थानीय व्यक्तिलाई साक्षी राख्नुपर्ने व्यवस्था छ।

यसका साथै, सम्बन्धित वडा कार्यालयले पनि सूचना पाटीमा उक्त जानकारी सार्वजनिक गर्नुपर्ने हुन्छ।

यदि अभियुक्त विदेशमा रहेको अवस्थामा, प्रहरी प्रधान कार्यालयमार्फत इन्टरपोलमा ‘रेड नोटिस’ जारी गरिन्छ। नेपालसँग सुपुर्दगी सन्धि भएको देशमा भएमा, त्यहाँको कानुनअनुसार पक्राउ गरी नेपाल पठाउन अनुरोध गरिन्छ।

सन्धि नभएको अवस्थामा पनि आपसी कानुनी सहायतामार्फत फिर्ता ल्याउने प्रयास गरिन्छ। आवश्यक परेमा भिसा वा पासपोर्टसम्बन्धी आधारमा निष्कासन गरेर पनि नेपाल पठाउन सकिन्छ।

आवश्यक परेमा नेपाली प्रहरीको टोली सम्बन्धित देशमा पठाएर पनि अभियुक्तलाई नेपाल ल्याउने प्रावधान छ। अब देउवा दम्पती स्वेच्छाले अदालतमा उपस्थित हुन्छन् वा सरकारले उनीहरूलाई कसरी नेपाल ल्याउँछ भन्ने विषय भने हेर्न बाँकी छ।

सम्बन्धित समाचार