काठमाडौं । दोस्रो नेपाल इन्स्योरेन्स कप फुटसल प्रतियोगिताको उपाधि हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले जितेको छ।
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७९औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा हिमालयन एभरेस्टले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीलाई ५–२ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। सिद्धार्थ प्रिमियर भने उपविजेतामा सीमित भएको छ।
सामाखुसी फुटसल ग्राउन्डमा सम्पन्न प्रतियोगितामा विभिन्न बीमा कम्पनीका टोलीले सहभागिता जनाएका थिए। सहभागी टोलीको प्रतिस्पर्धात्मक प्रदर्शनका कारण प्रतियोगिता रोमाञ्चक बनेको आयोजकले जनाएको छ।
प्रतियोगितामा हिमालयन एभरेस्ट इन्स्योरेन्सका दिनेश कुमार सिंह प्लेयर अफ द टुर्नामेन्ट घोषित भए। सोही टोलीका सुनिल थापा उत्कृष्ट डिफेन्डर बने।
यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका रोशन बुढाथोकी सर्वाधिक गोलकर्ता घोषित भए भने सुजन घिमिरेले उत्कृष्ट गोलकिपरको उपाधि पाए।
प्रतियोगिताको समापन समारोहमा नेपाल इन्स्योरेन्स कम्पनीका अध्यक्ष चन्द्रसिंह साउद र प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले विजेता तथा उपविजेता टोलीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरे।
विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगितामा मोबाइल एप पार्टनरको सहकार्यमा लाइभ स्कोर, खेलको नतिजा तथा प्रतियोगितासम्बन्धी जानकारी मोबाइल एपमार्फत उपलब्ध गराइएको थियो।
बीमा क्षेत्रका कम्पनीलाई एउटै खेल मैदानमा जोड्दै आपसी सम्बन्ध, सहकार्य, स्वस्थ प्रतिस्पर्धा र टिम स्पिरिटलाई मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाल इन्स्योरेन्स कम्पनीले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिताले बीमा क्षेत्रमा खेलकुदमार्फत आपसी सद्भाव र सहकार्यको वातावरण निर्माण गर्न सहयोग पुर्याएको छ।