free website hit counter

धितोपत्र बोर्डको काम कारबाही आजबाट सुचारु

beemaadmin
२०८२ कार्तिक २४, सोमबार

काठमाडौँ । विविध माग सहित कर्मचारी आन्दोलनमा उत्रिएका कारण डेढ महिनाभन्दा बढी समयदेखि ठप्प रहेको नेपाल धितोपत्र बोर्डको काम आजदेखि नियमित रूपमा सुरु भएको छ । अर्थ मन्त्रालयले कर्मचारीको सेवा सुविधा कटौती हुनेगरी पठाएको पत्र पठाएपछि आन्दोलनमा उत्रिएका कर्मचारीहरूको माग पूरा गर्नेगरी सहमति भएसँगै उक्त बोर्डको नियमित कामकारबाही सुचारु भएको हो । आजदेखि बोर्डका सबै कर्मचारीहरू नियमित काममा फर्किएको नेपाल धितोपत्र कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले बताए । उनले सरकारले माग पूरा गर्ने सहमति जनाएपछि ‘शंकाको सुविधा’ दिएको उनले बताए । उनले एक साताभित्र माग पूरा नभए आफूहरू फेरि आन्दोलनमा फर्किनसक्ने अवस्था समेत रहेको बताए । आइतबार बोर्डका मन्त्रालयले बोर्डलाई पठाएको पत्रबारे अध्ययन गर्न एउटा समिति गठन गर्ने सहमति जुटेको थियो । कानुन मन्त्रालयका सहसचिवको अध्यक्षता रहने उक्त समितिले कर्मचारीको सुविधासम्बन्धी नियमावलीमा रहेको व्यवस्था र उक्त पत्रको औचित्यबारे अध्ययन गर्ने आवश्यक सिफारिस गर्नेछ । समितिमा बोर्डका रहेका कर्मचारी संगठनहरूको प्रतिनिधित्व रहनेछ । बोर्डको कामकारबाही सुरु भएसँगै रोकिएका सेयर निष्कासन अनुमति तथा बोर्ड अन्तर्गतका निकायको नियमित काम कारबाही सुरु हुनेछ । अहिले धितोपत्र बोर्डमा ७४ वटा कम्पनीको ५४ अर्ब १५ करोड बढीको साधारण शेयर आईपीओ निष्कासनको प्रतीक्षामा रहेका छन् । त्यस्तै, झन्डै पौने ६ अर्बको हकप्रद शेयर तथा झन्डै २३ करोडको एफपीओ समेत निष्कासनको प्रतीक्षामा छन् । आफ्ना माग पूरा गर्न बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा माग्दै आएका कर्मचारीहरूले यो मागलाई होल्ड गरेका छन् । आफ्नो माग अर्थ मन्त्रालयको पत्र सच्याउनुपर्ने रहेको र यसमा अध्यक्षले सहयोग नगरेपछि राजीनामा मागे पनि पत्रको विषयमा सहमति भएसँगै उक्त माग समेत स्थगित भएको ढुंगाना बताउँछन् ।

सम्बन्धित समाचार