काठमाडौं । समय र बजारको मागलाई मध्यनजर गर्दै नयाँ नयाँ बीमा योजना बजारमा ल्याएर आफूलाई अब्बल सावित गरेको एलआइसी नेपालले चन्द्रागिरी रिसोर्टमा एजेन्टहरूसँग बाल समृद्दि बीमा योजनाबारे छलफल गरेको छ । आगामी बुधवार सार्वजनिक हुने उक्त बीमा योजना बढी भन्दा बढी कसरी विक्री गर्न सकिन्छ, त्यसको लागि उपयुक्त रणनीति कस्तो हुने भन्ने विषयमा आफ्ना उत्कृष्ट एजेन्टहरूसँग संवाद गरेको हो । सो अवसरमा एजेन्टहरूले यो बीमा योजना नेपालको परिप्रेक्षमा बिलकुलै नयाँ भएको र यसले आम जनतालाई बीमा प्रति आकर्षण बढाउन सक्दछ भन्ने धारणा व्यक्त गरे । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले अभिकर्तालाई नयाँ योजनाको बारेमा प्रष्ट पार्नु र बजारमा उक्त योजनालाई कसरी बढी भन्दा बढी विक्री गर्न सकिन्छ भन्ने रणनीति निर्माण गर्नको लागि यो कार्यक्रमको आयोजना गरिएको बताए ।
यस योजानामा बालबालिका १६ वर्ष हुँदासम्म बुझाएको बीमा शुल्कले बालबालिका १६ वर्ष पुगे पछिको १६, १७,१८,१९ र २० औं जन्मदिन पछिको बीमा वर्ष दिवसमा बीमाङ्कको २० प्रतिशत को दरले अग्रिम रुपमा रकम भुक्तानी धन फिर्ता पनि गरिने यस योजनाको विशेषता छ ।
त्यसै गरी यस योजानाले बालबालिका १६ वर्ष हुँदासम्म २० वर्ष हुँदासम्म जोखिम बहन गर्ने र दुर्घनावश कथमकदाचित प्रस्तावकको अस्वभाविक तवरले जीउ(ज्यान गएमा प्रत्येक बीमालेख महिना दिवसमा बीमाङ्कको १ प्रतिशत रकम मासिक आम्दानीको रुपमा भुक्तानी गर्दै बाँकी सम्पूर्ण बीमा शुल्कहरु मिनाहा भई बीमालेख चालू अवस्थामा रहने कम्पनीले जनाएको छ ।