free website hit counter

नयाँ लगानीको क्षेत्र खोज्दै बीमा कम्पनी

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार

काठमाडौं । बीमा कम्पनीहरुका लागि लगानीको क्षेत्र सीमित छ । बीमा बजारलाई सुरक्षित बनाउन नियामक निकाय नेपाल बीमा प्राधिकरणले लगानीको क्षेत्र तोकिदिएको छ । बिमा कम्पनीहरु धमाधम लगानी विविधीकरणमा लागेका छन्। बैंकले दिने ब्याज घटेपछि कम्पनीहरु लगानीका नयाँ क्षेत्र खोजीमा केन्द्रित भएका हुन्। यसअघि उनीहरु बैंकको निक्षेपमा लगानीको ९० प्रतिशतसम्म पैसा राखेर ब्याज आम्दानी गरिरहेका थिए। सरकारले १२ क्षेत्रमा लगानी गर्ने बाटो खोलिदिँदा पनि ब्याज आम्दानी राम्रो हुँदा विविधीकरण गर्नेतिर बिमा कम्पनीहरुको ध्यान थिएन। अहिले ७ खर्ब बढीको लगानीयोग्य पुँजी बोकेर बसेका जीवन बिमा कम्पनीहरुले लगानीका लागि छुट्टै सहायक कम्पनी खोल्न थालेका छन्। नेपाल लाइफ इन्स्योरेन्सले नेपाल बिमा प्राधिकरणबाट इन्भेस्टमेन्ट कम्पनी सञ्चालनको अनुमति लिइसकेको छ। कम्पनीले गत वर्षबाट नेपाल लाइफ क्यापिटल पनि सञ्चालनमा ल्याइसकेको छ। नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीका अनुसार प्राधिकरणबाट सहायक कम्पनीको रुपमा इन्भेस्टमेन्ट कम्पनी सञ्चालन गर्ने अनुमतिपछि कम्पनी सञ्चालनमा ल्याउने काम सुरु भइसकेको छ। यसबाहेक अन्य ५ बीमा कम्पनीहरु पनि प्राधिकरणको स्वीकृति कुरिरहेका छन्। सूर्यज्योति लाइफ इन्स्योरेन्सले ५० करोड चुक्ता पुँजीसहितको सूर्यज्योति लाइफ इन्स्योरेन्स इन्भेस्टमेन्ट कम्पनी खोल्न प्राधिकरणको अनुमति पर्खिरहेको छ। यस्तै सन नेपाल लाइफ इन्स्योरेन्सले पनि २९ करोड चुक्ता पुँजी पुर्‍याएर सन नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी सञ्चालनको लागि प्राधिकरणसँग अनुमति मागेको छ। त्यसैगरी हिमालयन रि इन्स्योरेन्सले ३२ करोडको चुक्ता पुँजीसहितको हिमालयन क्यापसर्ब लिमिटेडमार्फत नेपाल अपरच्युनिटी फन्ड र एनआईबीएल इक्विटी पार्टनर फन्डका लागि प्राधिकरणसँग अनुमति मागेको छ। हिमालयन लाइफ इन्स्योरेन्सलेले १५ करोड चुक्ता पुँजीसहितको हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेड सञ्चालन गरिरहेको छ भने सन नेपाल लाइफ इन्स्योरेन्सले ६० करोडको चुक्ता पुँजीसहित सन नेपाल इन्भेस्टमेन्ट सञ्चालन गरिरहेको छ। सन नेपालले अब भने ६० करोडमा थप २९ करोड पुँजी वृद्धि गर्न प्राधिकरणमा अनुमति मागेको हो। यो कम्पनीले गत वर्षबाटै १ करोड ९५ लाख रुपैयाँ चुक्ता पुँजीसहित सन नेपाल क्यापिटल सञ्चालन गरिरहेको छ। यता हिमालन रिले हिमालयन होल्डिङ्स कम्पनी सहायक कम्पनीको रुपमा सञ्चालन गरिरहेको छ। गत वर्षबाटै नेशनल लाइफ इन्स्योरेन्सले पनि १० करोड चुक्ता पुँजीसहितको नेशनल क्यापिटल सञ्चालन गरिरहेको छ। गत वर्षबाट सञ्चालनमा ल्याएको नेशनल क्यापिटलपछि अब इन्स्योरेन्सले सहायक कम्पनीको रुपमा नेशनल इन्भेष्टमेन्ट कम्पनी सञ्चालन गर्न आन्तरिक तयारी पनि गरिरहेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले लगानी विस्तारका लागि इन्भेस्टमेन्ट कम्पनी खोल्ने तयारी भइरहेको बताए।
बिमा प्राधिकरणले २०८० पुसमा जीवन बिमकको लगानी (दोस्रो संशोधन) निर्देशन २०८० जारी गर्दै १२ वटा क्षेत्रमा लगानीका लागि सीमा तोकेर बाटो खोलिदिएको थियो। तर सीमा तोकिए पनि सीमाभन्दा बाहिर गएर निक्षेप केन्द्रित देखिएका जीवन बिमकहरु ब्याज घटेपछि भने लगानी विविधीकरणका लागि सक्रिय देखिन थालेका छन्। चालू आर्थिक वर्षको पुस मसान्तसम्म ६ वटा जीवन बीमा कम्पनीहरुले बीमाकोषमा रहेको लगानीयोग्य रकमलाई विविधीकरण गर्न छुट्टै लगानी कम्पनी खोल्न लागेका हुन्। जोखिमको बहानामा बैंकहरुको ब्याजमै रमाउँदै आएका बीमा कम्पनीहरुले ब्याज सस्तिएर तल्लो सीमामा आइपुगेपछि आम्दानी गुमाउने आकलनका बीच लगानीलाई इन्भेस्टमेन्ट कम्पनीमार्फत विविधीकरणमा तम्सिएका हुन्। सबैभन्दा ठूलो फन्ड रहेको नेपाल लाइफ इन्स्योरेन्सले अनुमति पाएर इन्भेस्टमेन्ट कम्पनी सञ्चालन सुरु गर्दैगर्दा अन्य कम्पनीहरु पनि अनुमति पाउने क्रममा देखिएका हुन्।

सम्बन्धित समाचार

सुनको भाउ १ लाख ८० हजार नजिक

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

नेप्सेको सीईओमा चापागाईं नियुक्त

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

गभर्नरमा हुँदैछ एसम्यानको खोजी

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

लक्ष्मी सनराइज बैंक २४औँ वर्षमा प्रवेश

beemaadmin
२०८१ चैत्र १८, मंगलवार