free website hit counter

नागरिकमा बीमाबारे धेरै सचेतना आएको छ

beemaadmin
२०७६ आश्विन १२, आईतवार

बीमा आजको आवश्यकता हो । कसैको व्यवसाय बढाउन नभई आफ्नो आवश्यकता पुरा गर्न बीमा गर्नुपर्छ भन्ने भावना जगाउनुपर्छ । बीमा अनिवार्य भने हुनुहुँदैन । हिजो बीमा क्षेत्रमा जनशक्तिको कमी थियो भनिरहँदा हामीले जनशक्ति धेरै चाहिने गरी काम नै गरेका थिएनौं । बीमाको पहुँच ६ प्रतिशत मात्रै भन्यौं, सधै यहिँ हुन्छ भन्ने सोच्यौं । तर नौवटा कम्पनी भएको बजारमा १० वटा नयाँ थपिँदा जनशक्तिमा केही कमी देखिएको हो । तर पछिल्लो समय बीमा क्षेत्रमा आकर्षण बढेको छ । यो क्षेत्रमा क्रमिक रुपमा युवा आकर्षण बढ्दैछ । बीमा क्षेत्रबाट मुलुकलाई राम्रो फाइदा पुगेको छ । हामीलाई पूर्वाधार विकासको आवश्यकता छ । यसका लागि दिर्घकालीन लगानी आवश्यक छ ।

यस्तो लगानी जीवन बीमा क्षेत्रबाट जुट्नसक्छ । जीवन बीमा कम्पनीहरुमा वार्षिक रुपमा पैसा जम्मा भएर एउटा निश्चित समयका लागि बसेको रकम लगानी गर्न सकिन्छ । अहिले बैंकबाट बीमा गरेको विषयले नकारात्मक असर गरेको छ । बीमाका लागि ‘मोटिभेट’ गर्ने हो । ‘क्लाईन्ट’बाट लिएको रकम हाम्रो कमाई नभएर दायित्व हो । यो रकमलाई ‘गभर्मेन्ट ब्याकअप प्रोजेक्ट’मा लगानी गर्न सकिन्छ । बीमा भनेको एकदमै विश्वासको कुरा हो । बिमित र अभिकर्ताहरुले हामीलाई विश्वास गर्नु भएको छ । बीमा बिजिनेसमा अभिकर्ताहरुको काम धेरै गाह्रो हुन्छ । अभिकर्ताले कमिशनका लागि मात्र काम गर्ने होइन, विमित र संस्थाको हित पनि हेर्नुपर्छ ।

अपराधले दिएको शिक्षा
रौतहट र पोखरामा भएको घटनाले हामी बीमा व्यवसायीहरुले भविश्यमा यस्ता घटना हुन सक्लान कि भन्नेमा सचेत हुनपर्छ । यो घटना नेपालमा नयाँ हो । छिमेकी भारतमा यस्ता घटना नयाँ होइन तर, हाम्रो नेपालमा कल्पना भन्दा बाहिरको कुरा थियो । आगामी दिनमा यस्ता घटना हुन नदिनका लागि गम्भीर हुनुपर्छ । यसमा हामी हाम्रो तर्फबाट के गर्न सक्छौं भन्ने सोच्नुु पर्छ । अहिले नेपालमा कोहि पनि व्यक्ति बीमा कम्पनीमा आफैं आएर बीमा गरेका छैनन् । कोही व्यक्ति बीमा गर्न अभिकर्ता वा सिधै बीमा कम्पनीमा आए भने उनी किन बीमा गर्न चाहन्छन् भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । बीमा गर्न आउने व्यक्तिको आम्दानीको श्रोत, बीमा गर्न चाहनुको कारण, आनिबानीदेखि स्वास्थ्य अवस्थासम्मको मिहिन जानकारी लिनु पर्छ । पहिले त यस्तो विषयमा अभिकर्ताले ध्यान दिनुपर्छ । गलत सोचका साथ बीमा गर्न खोजेको व्यक्तिले धेरै कुराहरु लुकाउँछ । हामीले सकेसम्म सत्य खोतल्ने प्रयास गर्नुपर्छ ।

बढी बेच्न खोजदा पैसा नउठेर सिमेन्ट उद्योग बन्द भए । भविष्य नहेरी बिक्री बढाउन खोजियो भने त्यसको असर पर्छ । हामीले बीमा त गर्ने हो तर, बीमा गर्न योग्य छ छैन भन्ने पनि हेर्नुपर्यो । सबै बीमा कम्पनीले ‘टार्गेट बेस’ काम गरिरहेका छन् । त्यो टार्गेट गएर अभिकर्तामा ठोकिन्छ । टार्गेट पुरा गर्न अभिकर्ताहरुलाई हामी आकर्षक सेवा सुविधा दिन्छौं तर, उहाँहरुले रकम बढाउने नाममा क्लाईन्टबारे राम्ररी नबुझी गर्नु हुँदैन । यस्ता घटना रोक्न बीमा अभिकर्तामार्फले आफूले गर्न खोजेको बीमाबारे गहिरोसँग बुझ्न पर्यो । यो–यो अवस्थामा बीमा कभरेज हुन्छ वा हुँदैन भनेर बझ्न र बुझाउन सक्नुपर्छ । आपराधिक घट्नामा संलग्नहरुलाई कडाभन्दा कडा कानुनी सजाय हुनुपर्छ, जसबाट यसो अपराध गर्नै हुँदैन भन्ने सन्देश प्रवाह होस् ।

अवसर र चुनौती
चुनौतीलाई अवसरको रुपमा लिनुपर्छ । सफल हुनका लागि चुनौतीलाई अवसर बनाउनुपर्छ । बजारमा नयाँ प्रतिष्पर्धी थपिएपछि नयाँ योजना अनुसार काम गर्नुपर्छ । प्रगतिको चाहना सबैमा हुन्छ । कोहि व्यक्ति वा संस्था परिपूर्ण हुँदैन । हामीले राम्रोका लागि काम गर्ने हो । यो कुरा मनन् गर्दै आफ्नो कामलाई स्थिर तरिकाले अगाडि बढाउन सक्नुपर्छ । अहिले नागरिकमा बीमाबारे निकै चासो बढेको छ । बीमा कम्पनीहरु थपिएसँगै बीमासम्बन्धी कार्यक्रमहरु पनि धेरै भए । बीमा अभिकर्ताहरुको संख्या बढ्यो । बीमा अभियन्ता पनि बढेका छन् । सञ्चारमाध्यमहरुमा पनि बीमाका विषयले धेरै स्पेश पाएको छ । नियमनकारी निकाय बीमा समितिले पनि बीमा जागरणको कार्यक्रम चलायो । गाउँगाउँमा पुगेर त्यहाँको स्थानीय जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रमहरु गर्यो । यसले पनि आम नेपालीमा बीमाबारे धेरै सचेतना आएको छ ।

सुधारका उपाय
नेपालमा ९९ प्रतिशत जीवन बीमा लेख अभिकर्ताबाट बिक्री हुने गरेको छ । अभिकर्ता नै वास्तवमा बीमाको जनचेतना जगाउने माध्यम हुन् । उनीहरुबिना बीमा सम्भब छैन । तिनै अभिकर्तालाई बीमा कम्पनीले समय सापेक्ष र सही ढंगले तालिम दिइरहेका छैनन् । बीमाले नियमित बचतको बानी बसाउनुका साथै पूँजी निर्माणमा सघाउँछ । बैंकमा बचत गर्दा जसरी ब्याज पाइन्छ त्यसरी नै बीमाबाट पनि बोनसको रुपमा आम्दानी हुन्छ । नियमित जागिर भएका जागिरेले बीमा गर्दा कर छुट हुने प्राबधान समेत छ । नेपालीहरुमा बचतभन्दा खर्च धेरै गर्ने बानी बढिरहेको छ । विदेशबाट आएको रेमिट्यान्सको अधिकांश हिस्सा बिदेशी सामान किनेर उतै फर्किन्छ ।

बीमा गर्ने बानी बसाल्ने हो भने केही मात्रामा भए पनि बचत र अफ्ठ्यारो पर्दाको लागि सुरक्षण हुन जान्छ । नेपालमा बीमा प्रति गलत धारण छ । बीमा गर्नु भनेको अभिकर्तालाई कमिसन खुवाउनु भनेर बुझिएको छ । दक्ष अभिकर्ता नहुँदा जनतामा बीमाबारे गलत सन्देश फैलिन सक्छ । नेपालमा बीमा कम हुनुको प्रमुख कारण सरकारका सबै पक्षले बीमालाई तेस्रो प्राथमिकतामा राख्नाले हो । बीमाको लागि बीमा कम्पनी सरकारी निकाय तथा नियमनकारी निकाय सबै मिलेर जानु पर्छ । बीमाबाट ठूलो पूँजी निर्माण हुन्छ र राज्यले यसबाट फाइदा लिन सक्छ । हामी जीवन बीमा कम्पनीको सबैभन्दा महत्वपुर्ण काम भनेको बिमितबाट उठाएको रकमको उचित व्यवस्थापन नै हो । यो रकम हाम्रो सम्पत्ति नभइ दायित्व हो । त्यसैले यसको व्यवस्थापनमा चुकेको खण्डमा बिमितको भविश्यको सुरक्षण सहि ढंगले नहुन सक्छ । (नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत झाका सार्वजनिक अभिइक्तिमा आधारित)

सम्बन्धित समाचार