free website hit counter

नाजुक आर्थिक अवस्थाको फाइदा सन्दिपले उठाएका हुन् त ?

beemaadmin
२०८० पुष १४, शनिबार

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ। आइतबारदेखि निरन्तर सुनुवाइपछि शुक्रबार फैसला सुनाउँदै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपले बलात्कार गरेको ठहर गरेको हो। तर जाहेरवालाले माग गरे जति सजाय भने उनलाई नहुने भएको छ। जाहेरवाला किशोरीले आफू नाबालिग रहेको दाबी गर्दै सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद माग गरेकी थिइन्। प्रहरी र सरकारी वकिलको मागदाबी पनि यही थियो। अदालतले जाहेरवाला नाबालिग नभई बालिग रहेको ठहर गरेपछि सजायको मात्रा घट्ने भएको हो। शुक्रबार न्यायाधीश ढकालले दिएको फैसलाको संक्षिप्त पाठमा भनिएको छ, नुवाकोटको स्थानीय तह, काठमाठौंको स्थानीय तह र वीरगन्जको नारायणी अस्पतालसमेतको अभिलेख प्रमाणबाट जाहेरवालाको जन्म मिति २०६१ असार १८ गते देखिएको र वारदात भएको मितिमा निजको उमेर १८ वर्ष पुगिसकेको देखियो। किशोरीले आफ्नो जन्म मिति त्यसभन्दा एक वर्षपछि २०६२ जेठ १८ गते दाबी गरेकी थिइन्। जन्म दर्ता प्रमाणपत्र र नागरिकता लिँदा उनले एक वर्ष बढाएको पाइएको छ। उमेरमा विवाद भएपछि अदालतले उनी जन्मिएको अस्पताल, जन्मदर्ता दिने स्थानीय तह र बसाइसराइ भई जाने आउने स्थानीय तहबाट समेत अभिलेख मगाएको थियो। जसबाट उनी नाबालिग नरहेको पुष्टि भएको हो। अदालतले भनेको छ, सन्दीप लामिछाने र गौशाला २६ नगरकोट गई काठमाडौं फर्किएर होटलको एउटै कोठामा बसेको देखिन्छ। यो कुरामा वादी प्रतिवादीको विवाद रहेकोसमेत देखिँदैन। राति एउटै कोठामा देखिएको सो समयमा र गौशला २६ को घटना भएको दिनको समेत क्रियाकलाप विचार गर्दा जबर्जस्ती करणी भएको देखियो। १८ वर्ष पुगिसकेको गौशला २६ को नाजुक आर्थिक अवस्थाको समेत फाइदा उठाई सन्दीपले जबरजस्तीकरणी गरेको ठहर अदालतले गरेको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१), (२) र (३) (ङ) बमोजिमको कसुर गरेको ठहर गर्दै सजाय निर्धारण गर्नका लागि आगामी पुस २५ गते पेसी तोकिएको छ। त्यसअघि वादी र प्रतिवादीका कानुन व्यवसायीलाई सो अवधिसम्म पीडितलाई भराउनुपर्ने क्षति र सोको आधारसमेत पेस गर्न लगाउन अदालतको आदेश छ।

के छ कानुनी व्यवस्था
मुलुकी अपराध संहिता–२०७४ को दफा २१९ मा जबर्जस्ती करणीसम्बन्धी व्यवस्था छ। यस दफाको उपदफा (२) मा कसैले कुनै महिलालाई मञ्जुरीबेगर करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ। सन्दीपले यही कानुनी व्यवस्थाविपरीतको कसुर गरेको ठहर भएको हो। जबर्जस्तीकरणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद हुने व्यवस्था छ। सन्दीपले करणी गरेकी किशोरी नाबालिग नरहेकाले उनलाई उपदफा (३) को (ङ) बमोजिमको सजाय हुनेछ, जसमा पीडित महिला १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी भएमा ७ देखि १० वर्षसम्म कैद हुने उल्लेख छ। अब पुस २५ गते अदालतले सन्दीपलाई यही व्यवस्थाअनुसार कम्तीमा ७ वर्ष र बढीमा १० वर्ष कैद सजाय तोक्नेछ। यस्तै जाहेरवाला किशोरीलाई भराइने क्षतिपूर्ति पनि निर्धारण हुनेछ।

सम्बन्धित समाचार