काठमाडौं । विश्व महामारी कोरोना कहरबीच प्रभु इन्स्योरेन्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै बीमा बजारमा गर्विलो उपस्थिति रहेको देखाएको छ ।
पहिलो त्रैमासको अवधिमा कम्पनीको नाफा ३७ दशमलव ३४ प्रतिशतले बढाएर ५ करोड ६३ लाख रुपैयाँ पुर्याएको छ जुन अघिल्लो वर्षको सोहि अवधिमा ४ करोड १० लाख रुपैयाँ थियो । पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३१ दशमलव २० प्रतिशतले बढेर २२ करोड २९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १६ करोड ९८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
यस्तै गत आर्थिक वर्षमा ५८ करोड ६१ लाख ९७ हजार रुपैयाँ रहेको कम्पनीको बीमा कोषमा यस वर्ष ७० करोड ५७ लाख ६० हजार रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीले ९ करोड ३९ लाख ५८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी रकम १३ करोड ३३ लाख ६ हजार रुपैयाँ छ ।