काठमाडौं । बुधबारदेखि निरन्तर भईरहेको वर्षासँगै नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ। बिहिबार र शुक्रबार केही समय सडक खुलाउन सकिएपनि अन्य समय पहिराले सडक अवरुद्ध रहेको चितवन प्रहरीले जनाएको छ। प्रहरीले सूचनामा भनेको छ, ‘नारायाणगढ–मुग्लिन सडकखण्डको चौधकिलो, सेतिदोभान ,चारकिलो,घोप्टेभिरमा माथीबाट ठुला ठुला पहिरो गएको कारण दुईतर्फी बाटो बन्द भएकोले उक्त बाटो खुल्न समय लाग्ने भएको कारण यस सडकखण्ड भई यात्रा गर्नु पूर्व बाटोको अबस्था बुझी यात्रामा निस्कनु होला।’
अत्याबश्यक र ईमरजेन्सी सवारी साधनहरुले बैकल्पिक मार्गको प्रयोग गर्नु हुन जिल्ला प्रहरी कार्यालय चितवनले अनुरोधसमेत गरेको छ। यस्तै, डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार शुक्रबार साँझ चारकिलो र पाँचकिलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको दुईघण्टा नपुग्दै सेती दोभानमा ठूलो पहिरो खसेको हो। त्यस पछि पुनः चारकिलो र पाँचकिलोमा पनि पहिरो खसेको हो।
नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्ने सेती दोभानमा पछिल्ला वर्षहरुमा पहिलोपटक पहिरो खसेको हो। उनले भने, “मैले यो सडकमा काम गरेको ६ वर्ष भयो। पहिलो पटक यहाँ पहिरो खसेको हो ।” सडकको भित्तातर्फ ५० मिटर भन्दा माथिबाट पहिरो झरिरहेकाले सफा गर्न कठिन भएको छ।
पहिरो रोकीएमा ५ देखि ६ घण्टामा सडक सफा गर्न सकिने भएपनि पानी परिरहेमा दिनभर लाग्न सक्ने उनको भनाइ छ। चार र पाँच किलोमा पहिलेकै ठाउँमा पहिरो खसेको हो। सडक सफा गर्न तीन वटा लोडर, एउटा एक्साभेटर, एउटा व्रेकर र दुईवटा जेसिबी परिचालन गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानदाश थापा सो सडक बिहिबार चार घण्टा र शुक्रबार दुई घण्टा मात्र सञ्चालन गर्न सकिएको बताएका छन्। मुग्लिन नजिकै चारकिलो र पाँचकिलोमा पहिरो खसिरहेकाले समस्या भएको उनको भनाइ छ। सेती दोभानमा ठूलो पहिरो खसेपछि थप जटिल बनेको थापाले बताए। सडक अवरुद्ध हुँदा विवाह लगायतका अत्यावश्यक काममा हिड्ने प्रभावित भएका छन्। ठूलो सङ्ख्यामा सवारीसाधनमा आएका यात्रुहरु सडकमानै बिचल्लीमा परेको उनले जानकारी दिए। शुक्रबार विवाहका लागि हिडेका बेहुलाहरुको बिचल्ली परेको सामुहिक तस्विरहरु सार्वजनिक भएका थिए। यसै गरी पृथ्वी राजमार्गको घोप्टेभिर र कुरिनटारमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। लेदो खसिरहेकाले सडक दुईतर्फी अवरुद्ध भएको थापाले जानकारी दिए। फाइल फाेटाे