free website hit counter

नारायणीमा जलसतह खतराभन्दा निकै माथि, चितवन र नवलपरासीमा डुबानको उच्च जोखिम

beemaadmin
२०८३ आश्विन ११, आईतवार

काठमाडौं । नारायणी नदीमा जलसतह खतराको तहभन्दा निकै माथि पुगेपछि चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा बाढी तथा डुबानको जोखिम उच्च भएको छ। बाढी पूर्वानुमान महाशाखाले विशेष बाढी पूर्वानुमान तथा परामर्श सूचना जारी गर्दै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।

महाशाखाका अनुसार देवघाटस्थित बाढी मापन केन्द्रमा नारायणी नदीको जलसतह ९ मिटरको खतराको तह पार गरेर करिब ११ मिटर पुगेको छ। नदीको जलसतह अझै बढिरहेको जनाइएको छ।

नारायणीका प्रमुख सहायक नदीमध्ये कालीगण्डकीमा बहाव खतराको तहभन्दा उल्लेख्य रूपमा माथि पुगेको छ। सेती, मादी, मर्स्याङ्दी, दरौँदी र चेपे नदीमा पनि बहाव सतर्कता तहभन्दा माथि पुगेर बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ।

यसैगरी बुढीगण्डकी र त्रिशूली नदीको जलसतहसमेत सतर्कता तह नजिक पुगेको छ। यी नदीमा पनि बहाव निरन्तर बढिरहेको जनाइएको छ।

देवघाटस्थित बाढी मापन केन्द्रको हालको बहाव र उपलब्ध पूर्वानुमानअनुसार नारायणी नदीको बहाव आइतबार दिउँसोसम्म बढ्ने क्रममा रहने अनुमान गरिएको छ। महाशाखाका अनुसार बिहान ११ बजेतिर नारायणीको जलसतह अधिकतम करिब १३ मिटर पुग्न सक्ने सम्भावना छ। साँझसम्म पनि नदीको जलसतह खतराको तहभन्दा माथि रहने सम्भावना रहेको जनाइएको छ।

नारायणीका सहायक नदीमा समेत दिउँसोसम्म उच्च बहाव कायम रहने भएकाले नदी तटीय क्षेत्रमा जोखिम थप बढेको छ। विशेषगरी चितवन र नवलपरासीका नारायणी नदी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रमा बाढी पस्ने जोखिम उच्च रहेको महाशाखाले जनाएको छ।

महाशाखाले नदी किनार, तल्लो भूभाग तथा कमजोर तटबन्ध वा संरचना भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई तत्काल सुरक्षित तथा अग्लो स्थानतर्फ स्थानान्तरण हुनसमेत अनुरोध गरिएको छ।

यसैगरी नारायणी र यसका सहायक नदीका तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, नदी किनार, पुल तथा तटबन्धमा भीड नगर्न आग्रह गरिएको छ। कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, चेपे, बुढीगण्डकी तथा त्रिशूली नदी आसपासका बासिन्दालाई आइतबार साँझसम्म विशेष सतर्कता अपनाउन भनिएको छ।

महाशाखाले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायबाट जारी हुने निर्देशन र बाढीसम्बन्धी सूचनाको पालना गर्नसमेत सबै नागरिकलाई आग्रह गरेको छ। निरन्तर वर्षा र नदीको बहाव बढिरहेको अवस्थामा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकले ढिलाइ नगरी सुरक्षित स्थानमा जानुपर्नेमा सम्बन्धित निकायले जोड दिएका छन्।

सम्बन्धित समाचार