free website hit counter

निजी सम्पत्तिको बीमाले कति गर्ला भरथेग

beemaadmin
२०८२ भाद्र २६, बिहीबार

काठमाडौं । सरकारसँगको असन्तुष्टिमा युवाहरु सडकमा उत्रिए पनि आक्रोशित समूह र अनियन्त्रित भीडले निजी क्षेत्रको ठूलो धनराशि नष्ट गरेको छ । जेनजीको दुई दिनको आन्दोलनले उग्ररूप लिएपछि देशभर ठूलो जनधनको क्षति भयो । गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि पनि आन्दोलनकारीहरुले सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी गरे । आन्दोलनको कारण केन्द्रीय प्रशासन सिंहदरबार जलाए । व्यवस्थापिका संसद रहेको वीरेन्द्र अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र खरानी पारे भने राष्ट्रपति भवन शितल निवाससँगै बालुवाटारको प्रधानमन्त्री निवास र ललितपुरको मन्त्री निवासपनि ध्वस्त पारे । सरकारको तीन अंग न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाका सबै संरचनाहरुसहित कैयौ नगरपालिकाका भवनहरु खरानी भए। जेनजी आन्दोलनले सरकारी भवनमा मात्रै आक्रमण गरेनन, राजनीतिक दलका नेताहरुको निवास र सवारी साधन समेत तोडफोड गरेर जलाइ दिए । आन्दोलनले उग्ररुप लिँदा उद्योगी व्यवसायीहरूको निजी सम्पत्तिमा व्यापक क्षति पुगेको छ । थापाथली क्षेत्रका अधिकांश गाडी शोरुमसहित पाँच तारे होटल हिलटन, हायात होटलसँगै निजी क्षेत्रको टेलिकम अपरेटर एनसेलको भवनमा समेत आक्रमण भएको छ । जेनजी आन्दोलनकारीहरुले देशभरका सरकारी तथा निजी संरचनामा तोडफोड गरेका छन् । कहाँ कति क्षति पुर्याएको छ त्यसको तथ्याङ्क संकलनको काम भइरहेको छ भने मूल्याङ्कन हुन बाँकी छ। देशभर तोडफोड र आगजनीपछि त्यसको भार बीमा कम्पनीहरूमा पर्ने देखिएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल निर्जीवन बीमक संघका पूर्वअध्यक्ष चंकी क्षेत्रीले जेनजीको आन्दोलनले ल्याएको क्षतिले बीमा कम्पनीहरूमा ठूलै दाबी पर्ने आँकलन गरे । उनल भने– भवन तथा त्यसमा रहेका सामानहरुको बीमा गरिने सम्पत्ति बीमा अन्तर्गत र सवारी साधनहरुको मोटर बीमा अन्तर्गत बीमा दाबी पर्छ । सम्पत्तिमा होटलदेखि लिएर अन्य भाटभटेनी आउटलेटहरु पर्छन । यसमा भवन र त्यसभित्र रहेको सम्पूर्ण सामानको बीमा हुन्छ । सम्पत्ति बीमाको प्रत्येक १० करोडमा साढे ३ करोड इन्स्योरेन्स कम्पनीले व्यहोर्ने र बाँकी चाँहि पुनर्विमा कम्पनीलाई दिने गरिएको छ । जेनजी आन्दोलनका कारण रि इन्स्योरेन्स कम्पनी र निर्जीवन बीमा कम्पनीको ब्यालेन्स सिट प्रभावित हुने देखिएको उनले बताए । उद्योगी, व्यवसायी र राजनीतिक नेताहरुको निजी निवास र सवारी साधनको बीमा गरिएको भए पनि सरकारी भवनहरुको भने बीमा भएको आफूलाई जानकारी नभएको बताए । सिंहदरबार, संसद भवन, राष्ट्रपति भवनदेखि लिएर सर्वोच्च अदालत, जिल्ला अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका धेरै सरकारी कार्यालयहरु आन्दोलनकारीहरुले ध्वस्त पारेका छन् । प्रदेश सरकार अन्तर्गत रहेका केही सरकारी गाडीहरु बीमा गर्ने गरिएको भए पनि अन्य सरकारी तवरबाट बीमा गर्ने नगरिएको उनले बताए । भुइँचालोकै समयदेखि बीमा गर्नुपर्नेमा जोड दिए पनि सरकारी पक्षले बेवास्ता गर्दा अहिले सरकारलाई नै आर्थिक रुपमा ठूलो भार पर्ने अवस्था आएको उनले बताए । सरकारले आफ्नो सम्पत्तिको बीमा गराएर निजी क्षेत्रलगायतमा बीमा गर्न प्रोत्साहित गराउनुपर्नेमा आफैं उदासिन हुनु राम्रो भने नभएको बीमक कम्पनीको टिप्पणी छ । सम्पत्ति बीमा गर्दा हुलदंगा हड्तालको पनि अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था गरिएको हुँदा सम्पत्ति बीमा गर्ने सबैले हुलदंगाबाट भएको क्षतिको दाबी भुक्तानी पाउने प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले बताए । यस अगाडि भुइँचालोको क्षतिको पनि बीमा गर्नुपर्ने प्रावधान भुइँचालो आउनु दुई वर्ष अगाडि मात्रै गरिएको थियो । निजी क्षेत्रले प्रायः बैकसँग ऋण लिएर कारोबार गरेका हुन्छन । ऋणको कारोबार गर्दा बैकहरुले बीमाको समेत कागजात खोज्ने हुँदा निजी क्षेत्रले गाडी र सम्पत्तिको प्रायः बीमा गरेको हुने एक निर्जीवन बीमा कम्पनीका शाखा प्रमुखले बताए । ‘सम्पत्ति बीमा अन्तर्गत गत आर्थिक वर्षदेखि हुलदंगा आतंकवादको पोलिसी अनिवार्य लिनुपर्ने प्रावधान छ । यसले गर्दा सम्पत्ति बीमाको संख्यात्मक वृद्धि नभए पनि प्रिमियम संकलनमा भने वृद्धि देखिएको छ। हुलदंगा आतंकवाद हड्तालको बीमा गर्नैपर्ने भएका कारण बीमा प्रिमियम महंगो भयो भनेर कतिपयले विरोध गरेका थिए । नेपालको सवालमा हुलदंगा आतंकवाद हड्तालको बीमा अनिवार्य गर्दा अहिले निजी क्षेत्र आफैं सुरक्षित रहन सफल भएको छ, उनले भने । जेनजी आन्दोलनका कारण भाटभटेनीका अधिकांश आउटलेट ध्वस्त भएका छन । पछिल्ला दिनहरुमा भाटभटेनीको क्षमता वृद्धि भएसँगै ऋण पनि त्यही हिसाबले वृद्धि भएको छ र बीमा रकम पनि त्यही हिसाबले बढेको छ । ‘मैले गत वर्ष धनगढी भाटभटेनी आउटलेटको मात्रै इन्स्योरेन्स गर्दा भ्याट बाहेक नै २५ लाख प्रिमियम उठाएको छु । धनगढी र इटहरी शाखा भाटभटेनीको ठूलो शाखा मध्ये पर्न आउँछ। भाटभटेनीले वार्षिक ४ देखि ५ करोड रुपैयाँ बीमा प्रिमियम तिर्छ । भवन र भवन भित्रका सामानहरुको समेत बीमा गरेको छ भाटभटेनीको मात्रै दाबी अर्बौंमा आउने देखिन्छ, उनले भने । सरकारी लगानी रहेको राष्ट्रिय बीमा कम्पनी छ । सरकारले यो कम्पनीबाट बीमा गरेर सरकारी सम्पत्तिको सुरक्षा गर्नुपर्ने उनले बताए । अझै सरकारी लगानी रहेको कृषि विकास बैक र राष्ट्रिय वाणिज्य बैकले लगानी गरेको नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र युनाइटेड प्रुडेन्सियल इन्स्योरेन्सबाट भए पनि सम्पत्ति बीमा र मोटर बीमा गरेको भए यस्तो हुलदंगा हड्तालबाट भएको क्षतिबाट आर्थिक नोक्सानी कम गर्न सकिने अवस्था हुने उनले आँकलन गरे ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार