free website hit counter

निफ्राको व्यवसाय बढे पनि नाफा करिब २० प्रतिशत घट्यो

beemaadmin
२०८३ श्रावण ७, बिहीबार

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म व्यवसाय विस्तार गरे पनि खुद नाफा र प्रति सेयर आम्दानीमा गिरावट आएको छ। ब्याज खर्च उल्लेख्य बढ्दा खुद ब्याज आम्दानी घटेकाले बैंकको नाफामा दबाब परेको वित्तीय विवरणले देखाएको छ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत असार मसान्तसम्म ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब २३ करोड ४० लाख रुपैयाँ रहेको थियो। यस आधारमा नाफा १९.९८ प्रतिशतले घटेको हो।

Advertisement
Advertisement

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २३.८९ प्रतिशतले घटेर १ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्ष यो रकम १ अर्ब ९० करोड रुपैयाँ थियो। निक्षेप तथा ऋण उपकरणको लागत बढेपछि ब्याज खर्च ५६ करोड ९१ लाख रुपैयाँबाट बढेर ९७ करोड ७३ लाख रुपैयाँ पुगेको छ।

Advertisement
Advertisement

यद्यपि, बैंकले २१ करोड २७ लाख रुपैयाँ बराबरको इम्पेयरमेन्ट चार्ज रिभर्स गरेकाले नाफामा थप ठूलो गिरावट आउनबाट जोगिएको जनाएको छ।

व्यावसायिक विस्तारतर्फ भने बैंकले उल्लेखनीय प्रगति गरेको छ। ग्राहक तथा पूर्वाधार आयोजनामा प्रवाह भएको कर्जा २४ अर्ब ९४ करोड रुपैयाँबाट बढेर ३१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। साथै, बैंकले हालसम्म ५६ अर्ब १३ करोड रुपैयाँ बराबरको कर्जा स्वीकृत गरिसकेको छ, जसको रकम आयोजनाको प्रगतिअनुसार निकासा हुँदै जाने बैंकले जनाएको छ।

निक्षेप संकलन पनि सामान्य वृद्धि हुँदै ७ अर्ब ६८ करोड रुपैयाँबाट ७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म बैंकको कुल सम्पत्ति ४१ अर्ब ८४ करोड रुपैयाँ कायम भएको छ।

बैंकको सबैभन्दा बलियो पक्ष कर्जाको गुणस्तर रहेको देखिएको छ। समीक्षा अवधिसम्म बैंकको निष्क्रिय कर्जा (एनपीएल) शून्य प्रतिशत कायम रहेको छ, जुन बैंकिङ क्षेत्रमै उदाहरणीय मानिएको छ।

त्यस्तै, बैंकको कस्ट अफ फन्ड्स ६.५१ प्रतिशतबाट घटेर ६.४६ प्रतिशतमा झरेको छ भने बेस रेट ६.९७ प्रतिशतबाट घटेर ६.७७ प्रतिशत कायम भएको छ। पछिल्ला तीन महिनाको औसत बेस रेट ६.७६ प्रतिशत रहेको बैंकले जनाएको छ। बैंकको सीडी रेसियो ७९.९२ प्रतिशत रहेको छ।

व्यवसाय विस्तारका सकारात्मक संकेत देखिए पनि बढ्दो ब्याज खर्चका कारण नाफामा दबाब परेको वित्तीय विवरणले देखाएको छ।

सम्बन्धित समाचार