कुनै पनि लक्ष्य प्राप्तिको लागि संघर्ष गर्दा थुप्रै चुनौतीहरु आउन सक्छन् । त्यो बेलामा सम्झनुपर्छ, यो मेरो परीक्षा हो म यसमा हटी होइन डटी लड्नेछु र एकदिन अवश्य सफल हुनेछु । यसका लागि हामीले फरक सोच, प्रष्ट लक्ष्य र लक्ष्य प्राप्तिका लागि स्पष्ट कार्ययोजना तयार गर्नु पर्दछ । अनि उक्त कार्ययोजना अनुसार निरन्तर लागि परेमा एक दिन अवश्य सफलताले हाम्रो पाउ चुम्ने छ ।
जुनसुकै व्यवसायमा सफल हुन कठिन छ । त्यसमा पनि अरुलाई विश्वासमा लिएर गरिने बीमा व्यवसाय अन्तर्गतको बीमा अभिकर्ताको काम झन कठिन हुन्छ । व्यवसायहरुमध्ये काममा कठिन र कमाइमा सरल भएको व्यवसाय हो, बीमा अभिकर्ता । ग्राहकको मन जित्न हम्मेहम्मे पर्दछ । ग्राहकका अफ्ठ्यारा प्रश्नहरुको उत्तर दिँदा दिँदा हैरान हुनु अर्को समस्या हो ।
सर्वप्रथम त बीमा अभिकर्ताले आफ्नो सीप र ज्ञानको मापदण्ड पुरा गर्नु जरुरी हुन्छ । यस क्षेत्रमा काम गर्न बीमाको उत्पादनहरु वा बीमा लेखहरूको पूर्ण जानकारी हुनुपर्दछ साथमा सकारात्मक सोच राखेर आशावादी भएर मात्रै पुग्दैन व्यक्तित्व आकर्षक, नैतिकवान, झर्को नमान्नु, समयको महत्व बुझ्नु, काममा निरन्तरता दिनु र सम्भावित ग्राहको सूची तयार पार्नु पर्दछ ।
सबै कुरा तन्दुरुस्त पारेर मात्रै ग्राहकको लिस्ट तयार पार्नुपर्छ। त्यस सूचीमा सबैभन्दा पहिला अधिकांश आफ्नै नातागोताका नाम हुन्छन् र ढुक्क भई बीमा गराउन जानुहुन्छ तर धेरैको जवाफ नकारात्मक आउँछ बाँकी रहेका ८÷१० जनाको पनि जीवन बीमा गराउन गाह्रो हुन्छ भने निर्जीवन बीमाको कुरा बुझाउन र बीमा गराउन झन् गाह्रो हुन्छ । धेरै समय लाग्न सक्छ, हरेस खानु भएन । निरन्रतता नै सफलता हो भन्ने कुरा मनमा राख्नुपर्छ । नियमित सम्पर्क गरेर पछि लाग्दा एक दिन अवश्य सफल भइन्छ ।
निरन्तरता नै सफलता कसरी हुनसक्छ ?
– नजिकको नातेदारले १० प्रतिशतले मात्र बीमा गर्दछन् ।
– ग्राहकसँग सम्बन्धले ४० प्रतिशत बीमा हुन्छ ।
– ग्राहकको आवश्यकताले ३० प्रतिशत बीमा हुन्छ ।
– समस्यामा परेका र बुझेका मध्ये २० प्रतिशतले बीमा गर्दछन् ।
यस व्यवसायको प्रमुख सफलता भनेको नै निरन्तरता हो । बजार सर्वेक्षणअनुसार अभिकर्ता र ग्राहकसँगको तेस्रो भेटमा ८० प्रतिशत ग्राहकले बीमा गर्दछन् भने अर्कोतिर आफूले बीमा गर्न लागिपरेको व्यक्तिले बीमा नगरे पनि संयोगले अर्को ग्राहक भेटिन्छ त्यसैले यस व्यवसायमा निरन्तरताको प्रमुख हात रहन्छ ।