काठमाण्डौ । चालु आर्थिक वर्षको पाँच महिनामा निर्जीवन बीमा कम्पनीहरुले १७ अर्ब भन्दा बढी प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमकहरुले १७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् । यो बीमाशुल्क रकम गत आवको सोही अवधिसम्मको तुलनामा ९.२७ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ७२ करोड १० लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए । यस अवधिसम्म आइपुग्दा प्रभु इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स बाहेक सबै कम्पनीले गत आवको तुलनामा आफ्नो व्यवसाय बढाएका छन् । चालु आवको मंसिर महिनासम्ममा सर्वाधिक सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब १९ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १०.०१ प्रतिशतले बढी हो । गत आवको यस अवधिसम्म सलिकोले १ अर्ब ९९ करोड रुपैयाँ प्रिमियम संकलन गरेको थियो । त्यस्तै, दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेनसले १ अर्ब ७६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियरको यो व्यवसाय गत आवको तुलनामा ७.०६ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ प्रिमियम संकलन गरेको थियो । यसका साथै शिखर इन्स्योरेन्सले १ अर्ब ७४ करोड, आइजीआई प्रुडेन्सियलले १ अर्ब ४५ करोड, नेको इन्स्योरेन्सले १ अर्ब ४० करोड, हिमालयन एभरेष्टले १ अर्ब ४० करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब १३ करोड, दि ओरियन्टल इन्स्योरेन्सले १ अर्ब १२ करोड, युनाइटेड अजोडले १ अर्ब २ करोड, सानिमा जिआइसीले ९९ करोड ७४ लाख, नेपाल इन्स्योरेन्सले ९४ करोड ४६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ७६ करोड ६८ लाख, राष्ट्रिय बीमा कम्पनीले ६७ करोड ११ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ५४ करोड ३४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । गत आवको मंसिर महिनासम्मको तुलनामा यस अवधिसम्म सर्वाधिक व्यवसाय बढाउनेमा भने दि ओरियन्टल इन्स्योरेन्स रहेको छ । कम्पनीले ५४.९८ प्रतिशत व्यवसाय ग्रोथ गरेको छ । त्यस्तै, नेपाल इन्स्योरेन्सले पनि आफ्नो व्यवसायमा उल्लेख्य बृद्धि गरेको छ । गत आवको मंसिर महिनासम्म ६१ करोड ९१ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको यस कम्पनीले चालु आवको सोही अवधिसम्म ५२.५७ प्रतिशत बढाएर ९४ करोड ४६ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । साथै युनाइटेड अजोडको व्यवसाय ४.२६ प्रतिशत र प्रभु इन्स्योरेन्सको व्यवसाय ८.८६ प्रतिशत घटेको छ ।