काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले पुनर्बीमा कमिसनबापत ४ अर्ब ५४ करोड ९३ लाख रुपैयाँ आर्जन गरेका छन्। कम्पनीहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अन्त्यसम्मको वित्तीय विवरणअनुसार १४ निर्जीवन बीमा कम्पनीले पुनर्बीमा कमिसनबापत साढे ४ अर्ब रुपैयाँ आर्जन गरेका हुन्। समीक्षा अवधिसम्म निर्जीवन बीमकहरुको पुनर्बीमा कमिसन आय अघिल्लो आर्थिक वर्षको तुलनामा ९.४४ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीहरुले पुनर्बीमा कमिसनबापत ५ अर्ब २ करोड ३८ लाख रुपैयाँ आर्जन गरेका थिए। निर्जीवन बीमा कम्पनीहरुले आफ्नो जोखिम पुनर्बीमा कम्पनीहरुलाई हस्तान्तरण गर्दा कमिसन प्राप्त हुन्छ। उक्त कमिसनलाई कम्पनीहरुले आम्दानीका रुपमा उल्लेख गर्न पाउने व्यवस्था रहेको छ।
समीक्षा अवधिसम्म ६ कम्पनीबाहेक सबै कम्पनीको पुनर्बीमा कमिसन आय घट्न पुगेको छ। गत वर्षमा अधिकांश निर्जीवन बीमा कम्पनीको पुनर्बीमा कमिसनबापत हुने आम्दानीमा गिरावट आएको छ। पुनर्बीमा कम्पनीहरुले निर्जीवन बीमा कम्पनीहरुलाई दिँदै आएको पुनर्बीमा कमिसन घटाउँदै आएकोले अधिकांश कम्पनीको पुनर्बीमा कमिसन घट्न पुगेको नेपाल इन्स्योरेन्सका नायब कार्यकारी अधिकृत ईश्वर पोखरेलले बताए। निर्जीवन बीमा कम्पनीहरुले आफैँले धेरै जोखिम बहन गर्न खोज्दा पुनर्बीमा कमिसनमा गिरावट आएको देखिन सक्छ, पोखरेलले भने, कम्पनीले दाबी नपर्ने अनुमान गर्दै कतिपय पोलिसी बिक्री गरिरहेका हुन्छन् तर दाबी उच्च मात्रामा पर्न जाँदा यस्तो कमिसन आय घट्न पुग्ने देखिन्छ। गत आर्थिक वर्षको अन्त्यसम्म शिखर इन्स्योरेन्सले पुनर्बीमा कमिसनमार्फत सबैभन्दा बढी आर्जन गरेको छ। कम्पनीले ५९ करोड ६० लाख रुपैयाँ पुनर्बीमा कमिसनमार्फत आम्दानी गरेको छ। त्यस्तै दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। कम्पनीले पुनर्बीमा कमिसनमार्फत ४५ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष सबैभन्दा पुनर्बीमा कमिसन आय बढ्ने कम्पनीमा भने प्रभु इन्स्योरेन्स रहेको छ। प्रभुले अघिल्लो वर्षको तुलनामा गत वर्ष ३२.६४ प्रतिशतले यस्तो आय बढाउन सफल भएको छ। त्यस्तै नेसनल इन्स्योरेन्सले पनि २५.१४ प्रतिशतले पुनर्बीमा कमिसन आय बढाएको छ। नेको इन्स्योरेन्सले १८.२५ प्रतिशत, ओरियन्टल इन्स्योरेन्सले ६.९७ प्रतिशत, एनएलजी इन्स्योरेन्सले ३.२३ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सले २।२१ प्रतिशतले बढाएको छ। अघिल्लो वर्षको तुलनामा गत वर्ष सबैभन्दा बढी पुनर्बीमा कमिसन आय घट्ने कम्पनीमा भने सिद्धार्थ प्रिमियर रहेको छ। कम्पनीको यस्तो आय ३२.९७ प्रतिशतले घटेको छ। त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको २०.९८ प्रतिशत, शिखर इन्स्योरेन्सको १८.५४ प्रतिशत र हिमालयन एभरेष्टको १७.२२ प्रतिशतले घटेको छ। बीमा कम्पनीहरुका लागि पुनर्बीमा कमिसन पनि एउटा प्रमुख आय हो। डाइरेक्सेसन तथा कतिपय जोखिमपूर्ण रुपमा विदेशी पुनर्बीमा कम्पनीमा हस्तान्तरण गर्दा कमिसन बढ्ने सम्भावना रहन्छ। तर, नेपाल बीमा प्राधिकरणले स्वदेशी पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्समा प्रत्यक्ष हिस्सा दिँदा पुनर्बीमा कमिसन घट्न पुगेको देखिएको हो।