free website hit counter

निर्जीवन बीमामा ठूलाे हिस्सा मोटर बीमाकाे

beemaadmin
२०८३ असार १३, शनिबार

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्ममा नेपालका निर्जीवन बीमा कम्पनीहरूले ४५ अर्ब ५८ करोड ३४ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा निर्जीवन तथा लघु निर्जीवन बीमा कम्पनीहरूले ३१ लाख ६ हजार ६२२ वटा बीमालेख जारी गर्दै उक्त रकम बराबरको कुल बीमाशुल्क संकलन गरेका हुन्।

तथ्यांकअनुसार निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा ठूलो रहेको छ। जेठ मसान्तसम्म मोटर बीमाबाट मात्रै १३ अर्ब ७८ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ, जुन कुल निर्जीवन बीमा व्यवसायको ३०.२६ प्रतिशत हो।

त्यसपछि सम्पत्ति बीमा दोस्रो ठूलो व्यवसायिक क्षेत्र बनेको छ। कम्पनीहरूले सम्पत्ति बीमाबाट १० अर्ब ७७ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्, जसको हिस्सा कुल व्यवसायको २३.६३ प्रतिशत रहेको छ।

त्यस्तै, इन्जिनियरिङ तथा ठेक्का बीमाबाट ८ अर्ब ६३ करोड १७ लाख रुपैयाँ अर्थात् कुल व्यवसायको १८.९३ प्रतिशत बीमाशुल्क संकलन भएको छ।

समीक्षा अवधिमा विविध (Miscellaneous) बीमातर्फ ४ अर्ब ५५ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ, जुन कुल व्यवसायको करिब १० प्रतिशत हो।

यस्तै, सामुद्रिक बीमाबाट २ अर्ब ८० करोड ४० लाख रुपैयाँ (६.१५ प्रतिशत), हवाई बीमाबाट २ अर्ब २८ करोड ४८ लाख रुपैयाँ (५.०१ प्रतिशत), कृषि तथा बाली बीमाबाट १ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ (३.३७ प्रतिशत) तथा लघु बीमाबाट १ अर्ब २० करोड ८९ लाख रुपैयाँ (२.६५ प्रतिशत) बीमाशुल्क संकलन भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

तथ्यांकले नेपालको निर्जीवन बीमा बजारमा मोटर, सम्पत्ति तथा इन्जिनियरिङ बीमाले प्रमुख योगदान दिइरहेको देखाएको छ भने कृषि, लघु तथा हवाई बीमाको हिस्सा तुलनात्मक रूपमा अझै सीमित रहेको देखिन्छ।

सम्बन्धित समाचार