free website hit counter

निर्जीवन बीमा कम्पनीको नाफा ३९ प्रतिशत घट्यो

beemaadmin
२०८३ श्रावण ३१, आईतवार

काठमाडौं । जेनजी आन्दोलन तथा बाढीपहिरोका कारण आर्थिक वर्ष २०८२/८३ मा निर्जीवन बीमा कम्पनीहरूको नाफामा उल्लेख्य गिरावट आएको छ। गत आर्थिक वर्षमा १४ वटा निर्जीवन बीमा कम्पनीको कुल खुद नाफा ३९.२१ प्रतिशत अर्थात् १ अर्ब ८० करोड ६ लाख रुपैयाँले घटेको छ।

यी कम्पनीहरूले गत आर्थिक वर्षमा कुल २ अर्ब ७९ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्षमा भने यी कम्पनीहरूको कुल खुद नाफा ४ अर्ब ५९ करोड २२ लाख रुपैयाँ थियो।

प्रभु इन्स्योरेन्सको मात्रै नाफा बढ्यो

गत वर्ष प्रभु इन्स्योरेन्सबाहेक अन्य अधिकांश कम्पनीको नाफा घटेको छ। प्रभु इन्स्योरेन्सको खुद नाफा १९.७१ प्रतिशतले बढेर २४ करोड ६४ लाख ४३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीले २० करोड ५८ लाख ६० हजार रुपैयाँ नाफा कमाएको थियो।

राष्ट्रिय बीमा कम्पनीको नाफा १९.४५ प्रतिशतले घटेर ३४ करोड ४४ लाख ३७ हजार रुपैयाँमा सीमित भएको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ३२.७४ प्रतिशतले घटेर ३७ करोड ५६ लाख ४६ हजार रुपैयाँमा झरेको छ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ३६.५२ प्रतिशतले घटेर ३३ करोड ७८ लाख ८५ हजार रुपैयाँमा सीमित भएको छ। नेको इन्स्योरेन्सको नाफा ५०.१९ प्रतिशतले घटेर २८ करोड ८३ लाख २१ हजार रुपैयाँमा झरेको छ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ५६.७५ प्रतिशतले घटेर ३२ करोड ६८ लाख ५२ हजार रुपैयाँ भएको छ। नेपाल इन्स्योरेन्सको नाफा ५९.६९ प्रतिशतले घटेर १२ करोड ७५ लाख ५० हजार रुपैयाँमा सीमित भएको छ।

सानिमा जिआईसी इन्स्योरेन्सको नाफा ६१.३८ प्रतिशतले घटेर १३ करोड ३९ हजार रुपैयाँमा झरेको छ। एनएलजी इन्स्योरेन्सको नाफा ६२.३० प्रतिशतले घटेर ५ करोड ७८ लाख १२ हजार रुपैयाँ भएको छ।

यस्तै, यूनाइटेड अजोड इन्स्योरेन्सको नाफा ६४.५५ प्रतिशतले घटेर ६ करोड ३० लाख ९९ हजार रुपैयाँमा सीमित भएको छ। शिखर इन्स्योरेन्सको नाफा ७१.२१ प्रतिशतले घटेर १३ करोड ८९ हजार रुपैयाँमा झरेको छ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफामा सबैभन्दा ठूलो गिरावट देखिएको छ। कम्पनीको खुद नाफा ९८.८९ प्रतिशतले घटेर ४० लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ।

घाटामा रहेका कम्पनीमा सुधार

अघिल्लो आर्थिक वर्षमा ११ करोड ७६ लाख ४७ हजार रुपैयाँ घाटामा रहेको दि ओरियन्टल इन्स्योरेन्स भने गत आर्थिक वर्षमा नाफामा फर्किएको छ। कम्पनीले समीक्षा अवधिमा ४९ करोड ४ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यता, नेशनल इन्स्योरेन्स भने गत आर्थिक वर्षमा १३ करोड १० लाख ७५ हजार रुपैयाँ खुद घाटामा गएको छ।

समग्रमा, प्राकृतिक विपद् र जेनजी आन्दोलनका कारण सिर्जित क्षति तथा दाबीको दबाबले निर्जीवन बीमा कम्पनीहरूको नाफामा ठूलो असर परेको देखिन्छ। बीमाशुल्क आर्जन भए पनि दाबी तथा अन्य खर्चको दबाबका कारण अधिकांश कम्पनीको खुद नाफा घटेको वित्तीय विवरणले देखाएको छ।

सम्बन्धित समाचार