free website hit counter

निर्जीवन बीमा कम्पनीबीच व्यवसाय विस्तारको प्रतिस्पर्धा

beemaadmin
२०८३ श्रावण १३, बुधबार

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ मा निर्जीवन बीमा कम्पनीहरूबीच व्यवसाय विस्तारको प्रतिस्पर्धा थप चर्किएको छ। अघिल्लो वर्षको तुलनामा १५.१२ प्रतिशतले व्यवसाय वृद्धि गर्दै निर्जीवन बीमा बजारको आकार ५० अर्ब रुपैयाँ नाघेको छ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ रहेको कुल बीमा शुल्क यस वर्ष बढेर ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँ पुगेको छ।

बजार हिस्साका आधारमा शिखर इन्स्योरेन्सले अग्रस्थान कायम राखेको छ। कम्पनीले ६ अर्ब ५१ करोड १३ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गर्दै १२.३८ प्रतिशतको वृद्धि हासिल गरेको छ।

दोस्रो स्थानका लागि भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सबीच कडा प्रतिस्पर्धा देखिएको छ। सगरमाथा लुम्बिनीले ५ अर्ब ४२ करोड २३ लाख रुपैयाँको व्यवसाय गर्दै दोस्रो स्थान ओगट्दा हिमालयन एभरेष्ट ५ अर्ब ३७ करोड ४२ लाख रुपैयाँको व्यवसायसहित निकै नजिक पुगेको छ।

व्यवसाय वृद्धिदरका हिसाबले भने एनएलजी इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले ३७.३० प्रतिशतको उच्च वृद्धि हासिल गरेको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३१.०६ प्रतिशत, नेशनल इन्स्योरेन्सले २१.५८ प्रतिशत र ओरिएन्टल इन्स्योरेन्सले २०.२४ प्रतिशतले व्यवसाय विस्तार गर्दै उल्लेखनीय प्रदर्शन गरेका छन्।

यद्यपि, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको व्यवसाय वृद्धिदर भने निकै सुस्त देखिएको छ। कम्पनीको व्यवसाय केवल ०.१७ प्रतिशतले मात्रै बढेकाले तीव्र प्रतिस्पर्धाबीच बजार हिस्सा जोगाउने चुनौती थपिएको संकेत देखिएको छ।

समग्रमा १४ वटै निर्जीवन बीमा कम्पनीले सकारात्मक व्यवसाय वृद्धि गरेका छन्। बढ्दो प्रतिस्पर्धा, नयाँ बीमा योजनाको विस्तार र बजार हिस्सा बढाउने रणनीतिका कारण आगामी दिनमा निर्जीवन बीमा क्षेत्रमा प्रतिस्पर्धा अझ तीव्र हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार