free website hit counter

निर्जीवन बीमा कम्पनीहरूको व्यापार ७ महिनामा २४ अर्बमाथि

beemaadmin
२०८१ फाल्गुन १४, बुधबार

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको सात महिनामा २४ अर्ब रुपैयाँ माथिको व्यापार गरेका छन् । चालू आवको साउनदेखि माघ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । उक्त बीमाशुल्क १६ लाख २१ हजार ६७९ वटा बीमालेख बिक्री गरेर संकलन भएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार गएको यस अवधिमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख ११ हजार ५७८ वटा बीमालेख बिक्री गरेर एक अर्ब २५ करोड ९५ लाख बीमाशुल्क संकलन गरेको छ । दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले एक अर्ब ५२ करोड २५ लाख बीमाशुल्क संकलन गर्दा नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले एक अर्ब ९५ करोड २ लाख रुपैयाँ संकलन गरेको छ । चालू आवको माघ मसान्तसम्म प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले एक अर्ब ३ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ अर्ब १३ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । शिखरको यो व्यापार निर्जीवन बीमा कम्पनीहरूमध्येकै सर्वाधिक हो । त्यस्तै, यस अवधिमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले एक अर्ब ६२ करोड १६ लाख बीमाशुल्क संकलन गर्दा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले एक अर्ब ९२ करोड १८ लाख रुपैयाँ शुल्क संकलन गरेको छ । यसका साथै सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले एक अर्ब ३८ करोड ५२ लाख रुपैयाँ संकलन गरेको छ । बीमा प्राधिकरणका अनुसार सात महिनामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले २ अर्ब ४४ करोड ७४ लाख बीमाशुल्क संकलन गरेको छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले २ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । माघ मसान्तसम्म आइजिआइ प्रूडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले २ अर्ब २ करोड ६८ लाख र युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले एक अर्ब ४० करोड १४ लाख बीमाशुल्क संकलन गरेको प्राधिकरणले जानकारी दिएको छ । यो अवधिमा दुई कम्पनीले भने एक अर्बको पनि व्यापार गर्न सकेनन् । सात महिनामा राष्ट्रिय बीमा कम्पनीले ९४ करोड ५ लाख संकलन गर्दा नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले ६९ करोड ३४ लाख रुपैयाँ मात्रै बीमाशुल्क संकलन गर्न सकेको प्राधिकरणले जानकारी दिएको छ ।
निर्जीवन बीमा व्यवसायमा मोटर र सम्पत्ति बीमालेखको भर देखिन्छ । चालू आवको सात महिनामा निर्जीवन बीमा कम्पनीहरूले मोटर र सम्पत्ति बीमालेखबाट सबैभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । चालु आव माघ मसान्तसम्म मोटर बीमाबाट ७ अर्ब ६८ करोड ७७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो शुल्क संकलन गर्नका लागि कम्पनीहरूले ९ लाख १५ हजार ५०२ वटा बीमालेख बिक्री गरेका छन् । निर्जीवन बीमा व्यवसायमा सर्वाधिक योगदान रहेको दोस्रो नम्बरमा सम्पत्ति बीमा रहेको छ । बीमा कम्पनीले सात महिनामा २ लाख ८१ हजार ५५७ वटा सम्पत्ति बीमालेख जारी गरेर ६ अर्ब ३३ करोड ४५ लाख संकलन गरेका छन् । त्यस्तै, यस अवधिमा निर्जीवन बीमा कम्पनीहरूले इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाबाट ३ अर्ब ६१ करोड ६ लाख आर्जन गरेका छन् । विविधबाट २ अर्ब ८५ करोड ५२ लाख संकलन गर्दा सामुद्रिक बीमालेखबाट १ अर्ब ४५ करोड ५६ लाख संकलन गरेका छन् । यस अवधिमा कम्पनीहरूले ६९ वटा हवाई बीमालेख बिक्री गरेर एक अर्ब ३५ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यसका साथै कृषि तथा बाली बीमालेखबाट ९६ करोड ४७ लाख र लघु बीमालेखबाट ५१ करोड ३२ लाख बीमाशुल्क संकलन गरेका छन् ।
चालू आर्थिक वर्षको सात महिनामा लघु बीमा व्यवसाय गर्ने चार कम्पनीले ५० करोड २८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जसका लागि यी कम्पनीहरूले दुई लाख २४८ वटा बीमालेख जारी गरेका छन् । यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी १४ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १२ करोड ४९ लाख संकलन गरेको छ । त्यस्तै, स्टार माइक्रोले ११ करोड ६६ लाख बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा ट्रस्ट माइक्रो इन्स्योरेन्सले ४१ हजार ६ सय वटा बीमालेख बिक्री गरेर ११ करोड ४३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचार