काठमाडौं । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति नेपाल निर्जीवन बीमा व्यवसायी संघले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। संघले बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको सकुशल उद्धारको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिएका नेपाल सरकार, सुरक्षा निकाय, नागरिक समाज र मित्रराष्ट्रका उद्धारकर्ताप्रति आभार व्यक्त गरेको छ।
संघको भदौ १५ गते बसेको बैठकले बाढीबाट क्षतिग्रस्त आयोजना, पूर्वाधार, संरचना तथा जनधनको विवरण प्राप्त भएपछि बीमा दाबी भुक्तानीलाई उच्च प्राथमिकतामा राखेर शीघ्र भुक्तानी गर्ने प्रतिबद्धता जनाएको थियो।

दैवी विपत्तिमा नागरिकको राहत, पुनःस्थापना र पुनर्निर्माणमा बीमा क्षेत्रले योगदान गर्नुपर्ने विषयलाई गम्भीरतापूर्वक लिँदै संघ तथा आबद्ध निर्जीवन बीमा कम्पनीहरूले संकलन गरेको ३ करोड ४७ लाख रुपैयाँ सहयोग भदौ १७ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।
संघका अध्यक्ष मनोहर दास मुलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थितिमा उक्त रकम अर्थमन्त्रीलाई हस्तान्तरण गरेको जनाएको छ।
सहयोग गर्नेमा नेपाल निर्जीवन बीमा व्यवसायी संघसहित सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेका छन्।
यसैगरी सगरमाथा लुम्बिनी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सका कर्मचारीहरूले व्यक्तिगत रूपमा गरेको २६ लाख २३ हजार १८ रुपैयाँ योगदानसमेत हस्तान्तरण गरिएको छ।
एनएलजी इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले भने यसअघि नै राहत सहयोग हस्तान्तरण गरिसकेका छन्। बाँकी निर्जीवन बीमा कम्पनीहरूले समेत सहयोग गर्ने प्रक्रिया अघि बढाइरहेको संघले जनाएको छ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश संकटमा परेको समयमा बीमा कम्पनीहरूले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए।