free website hit counter

निर्मलाले न्याय कहिले पाउँछिन् श्रीमान्

beemaadmin
२०७७ श्रावण १५, बिहीबार

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तले न्याय पाउनुपर्छ भनेर सिंगो देश एक ढिक्का भएर लागेको दुई वर्ष बित्यो तर अपराधी को हो भन्ने अझै अत्तोपत्तो छैन । यतिबेला उल्टै प्रमाण नष्ट गरेको आरोपमा निलम्बन गरेको प्रहरी टोली र जागिरबाटै बर्खास्तीमा परेका त्यो टोलीको नेतृत्व सम्हालेका एसपी दिलीप विष्टलाई सम्मानित अदालतले निर्दोष सावित गरिदिएको छ ।

बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानका क्रममा यातना दिएको र सार्वजनिक न्यायविरूद्धको कसुर गरेको अभियोगमा मुद्दा परेका आठ जना प्रहरीलाई कञ्चनपुर जिल्ला अदालतले सफाइ दिएको हो। बिहीबार न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्टसहित मुद्दा परेका आठै जना प्रहरीलाई सफाइ दिएको छ ।

बिस्टसहित सिआइबीका तत्कालीन डिएसपी अंगुर जिसी, प्रहरी कर्मचारीहरू ज्ञानबहादुर सेठी, हरसिंह धामी, रामसिंह धामी, एकेन्द्र खड्का, जगदीशप्रसाद भट्ट, र चाँदनी साउदलाई सफाइ दिइएको जिल्ला अदालतले बताएको छ । उनीहरूविरूद्ध निर्मला प्रकरणका प्रमाण नष्ट गरेको र अनुसन्धानका क्रममा पक्राउ परेका दीलिपसिंह बिष्टलाई यातना दिएको भन्दै प्रहरीले मुद्दा दायर गरेको थियो। निर्मला बलात्कारपछि हत्याकाण्डको प्रारम्भिक छानबिनदेखि नै प्रहरीले लापरबाही गरेको भन्दै कन्चनपुरमा आन्दोलनसमेत भएको थियो। आन्दोलनका क्रममा एक जनाको ज्यान गयो।

तत्कालीन एसपी डिल्लीराज विष्ट साढे १० लाख, डिएसपी अंगुर जिसी ९ लाख, डिएसपी ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्का ९–९ लाख, प्रहरी निरीक्षक जगदीश भट्ट ४ लाख, सई हरिसिंह धामीलाई ३ लाख ५० हजार, अर्का सई रामसिंह धामीलाई ३ लाख र प्रहरी जवान चाँदनी साउद २ लाख ५० हजार धरौटीमा रिहा भएका थिए। सरकारले प्रमाण लुकाउन सहयोग गरेको अभियोगमा बर्खास्तै गरेका प्रहरी अधिकारीलाई समेत सम्मानित अदालतले सफाई दिएको छ । यतिबेला निर्मलाको पक्षमा आन्दोलन गर्ने आम जनसमुदाय र पीडित परिवारको एउटै प्रश्न रहेको छ श्रीमान् निर्मलाले न्याय पाउँछिन् चाहिँ कहिले ?

सम्बन्धित समाचार