सर्वसाधारण जनता, आयोजना प्रभावित स्थानीय जनता, कर्मचारी वर्ग, सरकारी स्वामित्वको सस्थाहरू, नेपाल विद्युत प्राधिकरण र सरकारको समेत लगानी भएको ठूलो आयोजना मध्येको एक माथिल्लो तामोकोसी जलविद्युत आयोजनाबाट अझै उत्पादन हुन सकेको छैन । । आयोजना बन्न नसक्ने तर समाचारमा सधै छाइरहने, फास्ट ट्र¥याक, मेलम्ची आयोजना, पोखरा तथा सिद्धार्थ विमानस्थल कै कथा झै अपर तामाकोशीको उत्पादनको कथा पनि लम्बिने क्रम जारी छ । अब आगामी चैतबाट उत्पादन थाल्ने कुरा बाहिर आएको छ । हाल ‘एक्सपान्सन जोइन्ट’को डिनजाइन संशोधन हुँदै गरेको र काम धमाधम हुँदै भन्ने समाचार आएको छ ।
यो समाचार त निर्माणाधित जलविद्युतको उदाहरण मात्र हो यस्ता थुप्रै आयोजनाहरू हाल निर्माणको चरणमा नै छन जुन सेयर बजारमा भने सुचीकृत भइ सकेको अवस्था छ । सेयर बजारमा सूचीकृत भै सकेको रसुवागढी जलविद्युत, साञ्जेन जलविद्युन, हिमालयन पावर पार्टनर जस्ता थुप्रै आयोजनाहरू निर्माणाधिन अवस्थामा नै देखिन्छन ।
सेयर धनीले हेर्न मिल्ने आम्दानीको तथ्याङकमा सुको आम्दानी भएको देखिदैन । साधारण सेयर जारी गर्दा निकालेको विवरण अनुसार हेर्ने हो भने हालसम्म आयोजना निर्माण सकिएर राम्रो आम्दानी गर्न थालिसकेको अवस्था हुनुपर्ने हो त्यो भएको छैन र तत्काल बन्ने सम्भावना पनि विविध कारणले न्यून नै देखिएको छ । निर्माणमा भएको विलम्बका कारण निर्माण लागत चुलिएर सोचेको भन्दा निकै बढी पुगेको अवस्था हरेक जलविद्युत आयोजनामा देखिएको छ । अबको दिनमा आयोजना पूर्ण रुपमा निर्माण भइसक्दा प्रति मेगावाट लागत कति पुग्ने हो सो को पूर्ण जानकारी लिनसक्ने अवस्था सेयर होल्डरका लागि उपलब्ध छैन ।
मुलुकमा विद्युतको माग भने अझै रहेको बेला विद्युत उत्पादन तत्काल गर्न सकेको अवस्थामा त विक्रीको समस्या नहोला । तर कतिपय निर्माणाधिन आयोजना बनिसक्दा पनि प्रशारण लाइनको सुविधा उपलब्ध नहुदा विद्युत विक्रीमा समस्या हुने निश्चित छ । यस्तो अवस्थामा पनि सेयर बजारमा भने निर्माणाधिन जलविद्युत आयोजनाहरूको पनि सेयरको मूल्य आकासिएको छ ।
यसले पनि नेपाली सेयर बजारका अधिकांस लगानीकर्ताले कुनै पनि जलविद्युत आयोजनाको सेयरको बजार मूल्य अनुसार त्यसले दिन प्रतिफल कति छ र आयोजनाको भविष्य कस्तो हुने हो भन्ने कुराको हेक्का नै नगरि अनि निर्माण लागत बढदा र ऋण लिएको बैंकको व्याज र सावाले पार्ने प्रभाव र सेयर होल्डरले प्राप्त गर्न सक्ने प्रतिफलको लेखाजोखा नै नगरि हचुवाको भरमा सेयर खरिद गर्ने गरेको स्पस्ट देखिन्छ । कुनै पनि समाचार माध्यममा अब कुनै जलविद्युत आयोजना निर्माण सकिने भो भन्ने समाचार आउने वित्तिकै सो जलविद्युतको सेयरको बजार मूल्य उकास्न सक्रिय हुनेहरूले फाइदा उठाउने माहोल बनेको संकेतहरू देखिन्छन ।
त्यसको उदाहरण दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा भन्ने समाचारले बारम्बार प्रभावित पारेको देखिन्छ । अन्य जलविद्युत आयोजनाको हकमा पनि त्यस्तै भएको देखिन्छ । जबकी आयोजना निर्माण पश्चात् विद्युत विक्रीबाट हुने आम्दानी र त्यस आयोजनाले सेयर होल्डरलाई दिनसक्ने प्रतिफलको कहि कतै लेखाजोखा भएको पाइदैन ।
हाल निर्माण सकेर विद्युत विक्रीबाट लामो समयदेखि राम्रो आम्दानी गर्न र प्रतिफल दिन सफल चिलिमे, बुटवल पावर, सािनमा हाइड्रो जस्ता राम्रा कम्पनीको भने प्रतिफल अनुसार बजार मूल्य कायम भएको देखिदैन । जबकी सानो आयोजना अनि कम मात्र प्रतिफल दिन सक्ने कतिपय जलविद्युत आयोजनाको सेयर मूल्य बजारमा निकै चर्को देखिन्छ ।
भूकम्प, भारतीय नाकाबन्दी अनि हाल देखिएको कोभिड–१९ ले आयोजनाहरूमा पारेको र पार्नसक्ने प्रभावको लेखाजोखा गरेर आफूले लगानी गरेको जलविद्युतको सेयरको लगानीले भविष्यमा दिनसक्ने प्रतिफलको अनुमानको आधारमा मात्रै सेयर बजारमा जलविद्युत कम्पनीको सेयर खरिद गर्दा उपयुक्त हुने देखिन्छ । हल्लाको भरमा आयोजना निर्माण सम्पन्न हुने भो भनेको भरमा सेयर खरिद गर्दा पछताउनु पर्ने अवस्था आउन सक्छ । हाल नेपाली सेयर बजारमा जलविद्युत समूहको सेयरमा आएको उछालमा राम्रो प्रतिफल दिन सक्ने सेयरको रोजाइ गर्न चनाखो हुनुपर्ने बेला आएको छ ।
४५६ मेगावाटको ठूलो आयोजना अपर तामाकोशीको छ युनिट मध्ये एक युनिट ७६ मेगावाट मात्र पहिलो चरणमा उत्पादन हुने भएकोले त्यसले गर्ने आम्दानीले लगानीको प्रतिफल दिन सक्छ ? त्यो प्रश्नको हल खोज्नु पर्छ । अनि ३४–३५ अर्बमा सम्पर्ण निर्माण कार्य सक्ने लक्ष्य सहित निर्माण थालिएको माथिल्लो तामाकोशीको निर्माण लागत हाल करिब ७२ अर्ब लाग्ने अनुमान गरिएको छ ।
अझ समय घर्कने हो भने निर्माण लागत कति पुग्ने हो ? त्यसको कुनै ठेगान छैन । अनि सानो जलविद्युत आयोजनाहरू र तीनले दिने प्रतिफल र ती जलविद्युत कम्पनीहरूको सेयरको बजार मूल्य सही छ वा छैन भन्ने निक्र्यौल गरेर मात्र जलविद्युतको सेयरमा लगानी गर्नु भने बुद्धिमानी हुन्छ । निर्माण भएर सञ्चालनमा रहेको आयोजनाको लेखाजोखा गरेर लगानी गर्न त सजिलै छ तर निर्माणाधित आयोजनाको थप तथ्याङ्कहरू सार्वजनिक हुने वातावरण निर्माणमा नियमनकारी निकायहरूले पहल गर्नुपर्ने देखिन्छ । अन्यथा यथेष्ट जानकारी बिना नै भएको लगानी जोखिम पूर्ण हुनसक्छ ।