free website hit counter

निलो सिलिण्डर तत्काल बिक्री गर्ने योजना रोकियो

beemaadmin
२०८३ कार्तिक ३०, आईतवार

काठमाडौं । औद्योगिक तथा व्यावसायिक प्रयोजनका लागि छुट्टै निलो रङको एलपी ग्यास सिलिण्डर बिक्री गर्ने सरकारको तत्कालीन योजना रोकिएको छ । बजारमा ग्यासको आपूर्ति प्रभावित हुन सक्ने जोखिम देखिएपछि नेपाल आयल निगमले हतारमा निर्णय कार्यान्वयन गर्नुभन्दा थप अध्ययन गर्ने तयारी गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यावसायिक प्रयोजनका लागि तत्कालै निलो सिलिण्डर बनाएर बिक्री सुरु गर्न दबाब दिए पनि निगमले आपूर्ति व्यवस्थामा पर्न सक्ने असरलाई प्राथमिकतामा राखेको छ । पछिल्लो समय ग्यास अभावको समस्या केही सहज हुँदै गएको अवस्थामा नयाँ व्यवस्था लागू गर्दा पुनः बजारमा संकट आउन सक्ने निगमको आकलन छ ।

Advertisement
Advertisement

निगमका अधिकारीहरूका अनुसार व्यावसायिक प्रयोजनका लागि छुट्टै सिलिण्डर बिक्री सुरु गर्दा बजारमा ग्यासको वितरण र उपलब्धतामा समस्या आउन सक्छ । विशेषगरी अहिले प्रयोग भइरहेका १४.२ किलोका सिलिण्डरमै निलो रङ लगाएर व्यावसायिक प्रयोजनका लागि बिक्री गर्ने प्रस्तावले थप अन्योल सिर्जना गर्न सक्ने उनीहरूको चिन्ता छ ।

Advertisement
Advertisement

पछिल्ला चार महिनामा ग्यास अभावको समस्या बल्लतल्ल नियन्त्रणमा आएको अवस्थामा नयाँ व्यवस्था हतारमा लागू गर्दा पुनः आपूर्ति संकट निम्तिन सक्ने निगमका एक अधिकारीले बताएका छन् । यसअघि अमेरिकाले इरानमाथि गरेको आक्रमण र त्यसपछि भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण ग्यास आपूर्तिमा ठूलो दबाब परेको थियो ।

एउटै तौल र प्रकृतिका सिलिण्डरमा फरक रङ लगाएर बिक्री गर्दा दुरुपयोगको सम्भावना पनि रहने निगमको चिन्ता छ । सिलिण्डरको मूल्यमा करिब ६५० रुपैयाँको अन्तर रहेकाले रङ परिवर्तन गरेर बिक्री गर्ने प्रवृत्तिले बजारमा थप समस्या ल्याउन सक्ने अधिकारीहरूको भनाइ छ ।

यसअघि मन्त्रालयका सहसचिव नमराज घिमिरेले तत्कालै व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री सुरु गर्न दबाब दिएका थिए । त्यसपछि नेपाल एलपी ग्यास उद्योग संघले राष्ट्रिय भेला गरी १४.२ किलोका सिलिण्डरमा निलो रङ लगाएर कुल बिक्रीको १० प्रतिशतसम्म व्यावसायिक क्षेत्रमा उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त निर्णय निगमलाई समेत बुझाइएको थियो ।

तर निगमले आपूर्ति, अनुगमन र कार्यान्वयनको प्रभावबारे स्पष्ट योजना नबनाई व्यवस्था लागू गर्न नसकिने जनाएको छ ।

निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले चाडपर्व र समग्र आपूर्ति व्यवस्थाको अवस्था हेरेर मात्रै व्यावसायिक सिलिण्डर बिक्री सुरु गरिने बताएका छन् । उनका अनुसार व्यावसायिक ग्यास बिक्री आवश्यक भए पनि त्यसको कार्यान्वयनका लागि प्रभावकारी अनुगमन संयन्त्र तयार गर्नुपर्छ ।

यस विषयमा थप अध्ययन गर्न समिति गठन गर्ने तयारीसमेत निगमले गरेको छ । समितिले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री सुरु गर्ने उपयुक्त मोडालिटी, आपूर्ति व्यवस्थापन र सम्भावित प्रभावबारे अध्ययन गर्नेछ । समितिको सुझावका आधारमा मात्रै निर्णय कार्यान्वयनमा लैजानु उपयुक्त हुने निगमको निष्कर्ष छ ।

४५० किलोका सिलिण्डर तत्काल सञ्चालन गर्न सकिने उद्योगीको प्रस्ताव

व्यावसायिक प्रयोजनका लागि छुट्टै ग्यास सिलिण्डर बिक्री गर्ने विषयमा उद्योगीहरूबीच पनि फरक धारणा देखिएको छ । केही उद्योगीले १४.२ किलोका सिलिण्डरमा रङ परिवर्तन गरेर तत्काल बिक्री सुरु गर्नुभन्दा ठूलो क्षमताका सिलिण्डरबाट सेवा सुरु गर्नुपर्ने बताएका छन् ।

उद्योगीहरूका अनुसार ४५० किलो क्षमताको सिलिण्डर तत्काल सञ्चालनमा ल्याउन सकिने अवस्था छ । यसको नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्ड तयार गरी निगममा पठाइसकेको छ । निगमको सञ्चालक समितिले निर्णय गरेपछि यसको प्रयोग सुरु गर्न सकिने उद्योगीहरूको भनाइ छ ।

मनोज ग्यासका सञ्चालक मनोज दासले ४५० किलोका सिलिण्डर ठूला उद्योग, होटल तथा विद्यालयजस्ता संस्थाले प्रयोग गर्न सक्ने बताएका छन् । यस्तो ग्यास परल मूल्यमा बिक्री गर्न सकिने भएकाले निगमको आर्थिक नोक्सानी घटाउनसमेत सहयोग पुग्ने उनको भनाइ छ ।

हाल पनि निगमले जगदम्बा स्टिल र आरती स्टिललगायत केही ठूला उद्योगलाई १० प्रतिशत मुनाफा राखेर ग्यास बिक्री गर्दै आएको छ । ४५० किलोका सिलिण्डरबाट व्यावसायिक आपूर्ति सुरु गर्दा अहिलेको बजार व्यवस्थामा ठूलो असर नपर्ने उद्योगीहरूको दाबी छ ।

एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष गोकुल भण्डारीले पनि ४५० किलोका सिलिण्डरको बिक्री तत्काल सुरु गर्न सकिने बताएका छन् । उनका अनुसार फर्नेस प्रयोग गर्ने ठूला उद्योगलाई लक्षित गरी सोझै ग्यास उपलब्ध गराउन सकिने भएकाले यसले सर्वसाधारणका लागि हुने आपूर्तिमा असर पार्दैन ।

यद्यपि १९ र ५० किलो क्षमताका सिलिण्डरको गुणस्तरसम्बन्धी प्रक्रिया पूरा हुन बाँकी रहेकाले ती सिलिण्डरको प्रयोग भने केही समयपछि मात्रै सुरु गर्नुपर्ने उद्योगीहरूको धारणा छ ।

सरकारले व्यावसायिक क्षेत्रमा एलपी ग्यासको छुट्टै आपूर्ति प्रणाली विकास गर्न खोजे पनि त्यसको कार्यान्वयनमा देखिएको अन्योलले योजना तत्काल अघि बढ्न सकेको छैन । निगमले अध्ययन र आपूर्ति व्यवस्थापनलाई प्राथमिकता दिएपछि निलो सिलिण्डरको बिक्री सुरु हुने समयसमेत अनिश्चित बनेको छ ।

सम्बन्धित समाचार