free website hit counter

निसन्तान सैनिक दम्पत्तिले लगेछन् प्रसुतिगृहबाट बच्चा

beemaadmin
२०८० फाल्गुन १२, शनिबार

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउण्डभित्रबाट शिशु लैजाने महिला दुई दिनदेखि अस्पताल धाइरहेकी थिइन् । आफ्नो बच्चा नभएपछि उनले अरूको बच्चा चोरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । दैलेख नौमुले गाउँपालिका १ घर भई काठमाडौं, काँडाघारी बस्ने २४ वर्षीया कीमनकुमारी सिंह (मनिषा सिंह) बिहीबार र शुक्रबार प्रसुतिगृह गएको अनुसन्धानबाट खुलेको छ । यद्यपि बच्चा चोर्ने नै नियतले अस्पताल गएको नदेखिने प्रहरी अधिकारी बताउँछन् । उनी चेकअपकै लागि अस्पताल पुगेकी थिइन् । अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले आरोपि महिला आफैं सुत्केरीजस्तै अवस्थामा रहेको बताए । रक्तश्राव पनि भइरहेकाले उनको बच्चा खेर गएको हुनसक्ने रेग्मीको भनाइ छ । यसअघि पनि मनिषाको दुई तीनपटक बच्चा खेर गएको अनुसन्धानबाट खुलेको छ । शुक्रबार अस्पतालको कम्पाउण्डभित्रबाट काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका ३ घर भई हाल कपन बस्ने २२ वर्षीया सबिना श्रेष्ठको २६ दिनको आफ्नो छोरीलाई मनिषाले मागेर बोकेकी थिइन् । आफूले बोकेको शिशु लिएर उनी फरार भएकी थिइन् । शिशुसहित मनिषालाई शुक्रबार राति ११ः४५ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट पक्राउ गरेको छ। मनिषासँगै श्रीमान २८ वर्षीय नरेन्द्र मल्ल, दिदी शारदा शाही पनि पक्राउ परेका थिए । मनिषाका श्रीमान नेपाली सेनामा कार्यरत छन् । उनीहरूको बिहे भएको तीन वर्ष भएको छ । प्रहरीले पक्राउ गर्न जाँदा मनिषाले शिशु आफ्नै भएको दाबी गरेकी थिइन् । शुक्रबार राति ११ बजेर ३५ मिनेटमा आफूले बच्चा जन्माएको भन्दै सुत्केरी महिला जसरी हिँडडुल गरेको एसपी रविन्द्र रेग्मीले बताए । उनले भने, ‘हामीले पक्राउ गरेर ल्याउँदा पनि मैले नै जन्माएको हो भनेर भनिराख्नुभएको थियो । साथै बच्चालाई दुध पनि खुवाएको जस्तो गर्नुभएको थियो । आफन्त र छिमेकीलाई पनि सुत्केरी भएको जानकारी गराउनुभएको रहेछ ।’ यद्यपि छिमेकीले मनिषा गर्भवती रहेको थाहा नपाएको बतनएका छन् ।

सम्बन्धित समाचार