काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापना दिवसको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कम्पनीले ३० वर्षको सेवा यात्रा पूरा गरी ३१औँ वर्षमा प्रवेश गरेको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो।
ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालय ‘बीमा भवन’मा आयोजित कार्यक्रममा कर्मचारी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममार्फत ५३ पिन्ट रगत संकलन भएको कम्पनीले जनाएको छ।
रक्तदान अभियानलाई सफल बनाउन योगदान पुर्याउने सबै रक्तदाताप्रति कम्पनीले आभार व्यक्त गरेको छ। कार्यक्रममा प्राविधिक सहयोग नेपाल मेडिसिटी अस्पतालले उपलब्ध गराएको थियो।
रक्त संकलनसँगै सहभागी कर्मचारी र सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरिएको थियो। स्वास्थ्य परीक्षणबाट सहभागीहरूले आफ्नो स्वास्थ्य अवस्थाबारे प्रारम्भिक जानकारी प्राप्त गर्ने अवसर पाएका थिए।
समाजमा रगतको अभाव न्यूनीकरण गर्न तथा स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले सामाजिक सेवाप्रति कम्पनीको प्रतिबद्धता थप उजागर गरेको नेको इन्स्योरेन्सले जनाएको छ।
कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याउने नेपाल मेडिसिटी अस्पताल, रक्तदाता, कर्मचारी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्तिप्रति कम्पनीले धन्यवाद ज्ञापन गरेको छ।