free website hit counter

नेतृत्वविहीन बन्दा हिमालयन लाइफमा दैनिक कामकाज प्रभावित

beemaadmin
२०८३ असार ४, बिहीबार

काठमाडौं । सरकारद्वारा अदालतमा दायर गरिएको मुद्दापछि हिमालयन लाइफ इन्स्योरेन्सका उच्च व्यवस्थापन तहका अधिकारीहरू तथा सञ्चालक समितिका केही सदस्यहरू निलम्बनमा परेकाे एक साताभन्दा बढी समय बितिसक्दा पनि कम्पनीले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) नियुक्त गर्न नसकेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

कम्पनीको नेतृत्व तहमा उत्पन्न अन्योल कायम रहँदा दैनिक प्रशासनिक, व्यवस्थापकीय तथा व्यावसायिक गतिविधिमा असर पर्न थालेको भन्दै अभिकर्ता, कर्मचारी र लगानीकर्ताहरूले शीघ्र व्यवस्थापकीय नेतृत्वको व्यवस्था गर्न माग गर्न थालेका छन्। बीमा क्षेत्रका जानकारहरूका अनुसार जीवन बीमा कम्पनीजस्तो संवेदनशील संस्थामा नेतृत्व रिक्त रहनु दीर्घकालीन रूपमा संस्थाका लागि जोखिमपूर्ण हुन सक्छ।

स्रोतहरूका अनुसार कम्पनीभित्र विभिन्न महत्वपूर्ण निर्णयहरू रोकिएको, कतिपय प्रशासनिक प्रक्रिया ढिलो भएको तथा रणनीतिक विषयहरूमा निर्णय लिन कठिनाइ उत्पन्न हुन थालेको छ। दैनिक सञ्चालनका कामहरू नियमित रूपमा अघि बढिरहेको दाबी गरिए पनि नेतृत्वको स्पष्टता नहुँदा कर्मचारी तथा अभिकर्ताहरूबीच अन्योल बढ्दै गएको बताइन्छ।

हिमालयन लाइफ देशकै ठूलो जीवन बीमा कम्पनीमध्ये एक भएकाले यससँग लाखौं बीमित, हजारौं अभिकर्ता तथा ठूलो संख्यामा लगानीकर्ताको प्रत्यक्ष सरोकार जोडिएको छ। यस्ता बेला व्यवस्थापकीय नेतृत्वको अभावले कम्पनीको व्यवसायिक गतिविधि, सेवा प्रवाह तथा बजारमा कम्पनीप्रतिको विश्वासमा असर पर्न सक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

अभिकर्ताहरूले कम्पनीको वर्तमान अवस्थाबारे स्पष्ट जानकारी दिन र तत्काल कामु सीईओ नियुक्त गरी व्यवस्थापनलाई सक्रिय बनाउन दबाब दिने तयारी गरिरहेको स्रोतको दाबी छ। उनीहरूको भनाइमा कम्पनीको नेतृत्वसम्बन्धी अन्योल लम्बिँदै जाँदा अभिकर्ताहरूको मनोबलमा असर पर्नुका साथै नयाँ व्यवसाय विस्तारका गतिविधिहरू पनि प्रभावित हुन सक्छन्।

लगानीकर्ताहरूले समेत कम्पनीको नेतृत्व संकट चाँडो समाधान गर्नुपर्ने धारणा राख्न थालेका छन्। पछिल्लो समय वित्तीय क्षेत्र र बीमा उद्योगमा सुशासन तथा व्यवस्थापकीय स्थायित्वलाई विशेष महत्वका साथ हेरिने भएकाले हिमालयन लाइफले यस विषयमा शीघ्र निर्णय लिनुपर्ने उनीहरूको भनाइ छ।

बीमा क्षेत्रका जानकारहरूका अनुसार यस्ता परिस्थितिमा सञ्चालक समितिले कम्पनीको नियमित सञ्चालन, नियामकीय दायित्व तथा व्यवसायिक निरन्तरताका लागि तत्काल अन्तरिम नेतृत्वको व्यवस्था गर्नु सामान्य अभ्यास हो। अन्य बीमा तथा पुनर्बीमा कम्पनीहरूले पनि नेतृत्वमा रिक्तता उत्पन्न भएका बेला कामु प्रमुख कार्यकारी अधिकृत नियुक्त गरी संस्थागत गतिविधिलाई निरन्तरता दिएका उदाहरणहरू छन्।

यता, कम्पनीले भने कामु सीईओ नियुक्तिको विषयमा हालसम्म कुनै औपचारिक निर्णय सार्वजनिक गरेको छैन। सञ्चालक समितिको आगामी बैठकबाट यसबारे निर्णय हुन सक्ने अनुमान गरिए पनि आधिकारिक जानकारी बाहिर आएको छैन।

सरोकारवालाहरूले कम्पनीको दीर्घकालीन हित, सेवाग्राहीको विश्वास तथा संस्थागत स्थायित्वलाई ध्यानमा राख्दै नेतृत्वसम्बन्धी अन्योल यथाशीघ्र अन्त्य गर्न आग्रह गरेका छन्। उनीहरूको भनाइमा हिमालयन लाइफजस्तो ठूलो संस्थामा नेतृत्व रिक्तता लम्बिँदै जानु कम्पनीका लागि मात्र होइन, समग्र बीमा क्षेत्रका लागि समेत सकारात्मक संकेत नहुने भएकाले तत्काल आवश्यक निर्णय लिनु अपरिहार्य देखिएको छ।

सम्बन्धित समाचार