free website hit counter

नेपालमा मेटाको डेटा सेन्टरमा लगानी

beemaadmin
२०८३ बैशाख २४, बिहीबार

विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाले नेपालमा डेटा सेन्टर निर्माणका लागि लगानी गर्ने भएको छ। इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्ससँगको सहकार्यमा मेटाले करिब पाँच अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको हो।

अमेरिकी बहुराष्ट्रिय कम्पनी मेटा प्लेटफर्म्स इन्क फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, ह्वाट्सएप, थ्रेड्सलगायत विभिन्न डिजिटल प्लेटफर्महरूको मातृ कम्पनी हो। नेपालमा फेसबुक प्रयोगकर्ताको संख्या उल्लेख्य रहेको छ।

विश्वका प्रमुख ‘बिग टेक’ कम्पनीहरूमध्ये एक मानिने मेटाले काठमाडौंको मातातीर्थस्थित वर्ल्डलिंकको विद्यमान डेटा सेन्टर पूर्वाधारलाई उपयोग तथा विस्तार गर्दै नेपालमा आफ्नो परियोजना अघि बढाउन लागेको हो।

यसअघि मेटा र वर्ल्डलिंकबीच गोपनीयता सम्झौता (एनडीए) सम्पन्न भइसकेको छ। उक्त सम्झौताअनुसार दुवै पक्षले एकअर्कासँग आदानप्रदान भएका संवेदनशील तथा गोप्य जानकारी सार्वजनिक नगर्ने सहमति गरेका छन्।

हालै दुवै कम्पनीले लगानी साझेदारीसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिसकेका छन्। यद्यपि, लगानीको विस्तृत विवरण आगामी साउन महिनामा सार्वजनिक गर्ने सहमति भएको स्रोतहरूले बताएका छन्।

समझदारीअनुसार नेपालमा टायर–थ्री स्तरको अत्याधुनिक डेटा सेन्टर निर्माण गरिनेछ। यस्तो डेटा सेन्टरमा प्रणाली बन्द नगरी मर्मत सम्भार गर्न सकिने सुविधा हुन्छ, जसले यसको विश्वसनीयता उच्च बनाउँछ।

टायर–थ्री डेटा सेन्टर बैंक तथा फिनटेक सेवा, स्वास्थ्य क्षेत्रका डिजिटल रेकर्ड, क्लाउड तथा होस्टिङ सेवा, ई–कमर्स र उच्च ट्राफिक भएका अनलाइन प्लेटफर्महरूका लागि अत्यावश्यक पूर्वाधार मानिन्छ।

यस परियोजनामा वर्ल्डलिंकले नेपालको स्थानीय साझेदार तथा प्रतिनिधिका रूपमा काम गर्नेछ।

सम्बन्धित समाचार