free website hit counter

नेपाल इन्स्योरेन्सको ५० प्रतिशत चुक्ता पुँजी अझै अपुग

beemaadmin
२०८० मंसिर ११, सोमबार

काठमाडौं । नियामक निकाय नेपाल बिमा प्राधिकरणले तोकेको साढे २ अर्ब चुक्ता पुँजी पुर्याउन नेपाल इन्स्योरेन्सका लागि अझै ५० प्रतिशत बाँकी रहेको छ । गत आर्थिक वर्षसम्मको समय सीमा दिए पनि नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्सलगायत नन लाइफ इन्स्योरेन्सले तोकिएको पुँजी पुर्याउन सकेका छैनन् । बिमा प्राधिकरणले मर्जर प्रक्रियामा सहभागी नभएका कम्पनीहरुलाई हकप्रद शेयर दिन समेत कञ्जुस्याई गर्दा नेपाल इन्स्योरेन्सले भने कम्पनीका नाममा विभिन्न स्थानमा भएका जग्गा बेचेर चुक्ता पुँजी पुर्याउने योजना बनाएको थियो । कम्पनीको योजना अनुसार जग्गा नबिकेपछि कम्पनीले कुमारी बैंक र नेपाल रिइन्स्योरेन्समा रहेको संस्थापक शेयर बेचेर चुक्ता पुँजी पुर्याउने योजना प्राधिकरणमा पेश गरेको थियो ।
कम्पनीले योजना पेश गरे अनुसार पर्याप्त मात्रामा कम्पनीको नाममा रहेको जग्गा पनि बिक्री हुन सकेको छैन । नेपाल इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति सदस्य चन्द्र सिंह साउदका अनुसार कुमारी बैंकको संस्थापक शेयरमध्ये ३ लाख कित्ता जति मात्रै बिक्री भएको छ भने बिक्रीमा राखेको जग्गामध्ये बिराटनगरको जग्गा बिक्री भइसकेको छ । नेपाल रिइन्स्योरेन्सको संस्थापक शेयर बेच्ने प्रक्रिया चलिरहेको उनले बताए । नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ रहेको छ भने कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर र ०।५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बोनस शेयर पुँजीकृत भएपछि पनि संस्थाको चुक्ता पुँजी १ अर्ब ६४ करोड ४१ लाख रुपैयाँ मात्रै पुग्नेछ । प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउन कम्पनीलाई अझै ८५ करोड भन्दा बढी चुक्ता पुँजीको अभाव रहेको छ । कम्पनीको योजना अनुसार जग्गा र संस्थापक शेयर बिक्री भइ नसकेको हुँदा हकप्रद शेयर जारी नगरिकन कम्पनीले तोकिएको चुक्ता पुँजी पुर्याउन सक्ने देखिंदैन । कम्पनीले अन्य स्रोतबाट पुँजी वृद्धि गर्न सकेन भने झन्डै ५० प्रतिशत हकप्रद निष्काशन गर्नुपर्ने हुन्छ । ‘कम्पनीले कुमारी बैंक र नेपाल इन्स्योरेन्समा रहेको संस्थापक शेयर बेचेर आएको रकम र जग्गा बेचेर आएको रकम जोडेर पुँजी वृद्धि गर्ने योजना बनाएको हो । सम्पत्ति बेच्न सकेन भने अर्को विकल्प भनेको हकप्रद शेयर जारी गर्ने मात्रै हो ।’–कम्पनीका सञ्चालक साउदले भने । प्राधिकरणले हकप्रद शेयर जारी गर्न दिएन भने तत्काल कम्पनीले पुँजी पुर्याउन नसक्ने देखिएको छ ।
नेपाल इन्स्योरेन्सले यसअघि आइजीआई र प्रुडेन्सियलसँग मर्जरमा जाने योजना बनाएको थियो । तीन वटै संस्थालाई मर्जरमा जान प्राधिकरणले दबाब दिए पनि अन्तत आईजीआई र प्रुडेन्सियल मात्रै मर्जरमा गए भने नेपाल इन्स्योरेन्स मर्जर प्रक्रियाबाटै बाहिरियो । नेपाल इन्स्योरेन्समा रहेको आईएमई समूहको शेयर समेत सो समूहले बेचेर बाहिरिसकेको छ । उक्त कम्पनीमा रहेको आईएमई समूहको शेयर एसियन लाइफ इन्स्योरेन्सले खरिद गरेको थियो । मर्जरमा नगएका नन लाइफ इन्स्योरेन्समध्ये एनएलजी इन्स्योरेन्सले हकप्रद शेयरको अनुमति पाइसकेको छ भने प्रभु इन्स्योन्सको हकप्रद प्रस्ताव भने बिमा प्राधिकरणले पारित गरेको छैन । प्रभु इन्स्योरेन्सले विदेशी साझेदार ल्याउने प्रस्ताव गरे पनि आर्थिक मन्दीका कारण सफल हुन नसकेपछि भारी हकप्रद ल्याउने प्रस्ताव गरेको थियो । दुई कम्पनी बाहेक अन्य नन लाइफ कम्पनीहरुले भने मर्जरमा गएर पुँजी वृद्धि गरेका कारण आंशिक रुपमा हकप्रद शेयर निष्काशनको स्वीकृति दिएर पुँजी पुर्याउनेछ ।

सम्बन्धित समाचार