काठमाडौं । नेपाल चिया विकास निगमले सर्वसाधारणलाई आइपीओ जारी गर्ने भएको छ। २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीमा नेपाल सरकारको ३५ प्रतिशत शेयर छ भने निजी क्षेत्रको ६५ प्रतिशत शेयर छ। कम्पनीले सर्वसाधारणलाई शेयर जारी गर्ने विशेष प्रस्ताव उन्नाइसौ साधारण सभामा लाने भएको छ। कम्पनीको चैत ६ गते बसेको १५४ बोर्ड बैठकले उक्त प्रस्ताव सहित अन्य प्रस्तावहरू उपर छलफल गर्ने निर्णय गरेको छ। सोही निर्णय अनुसार उसले साधारण सभा बोलाएको हो। कम्पनीले चैत २९ गते आइतबार आफ्नै त्रिवेणी कम्प्लेक्स पुतलीसडकमा बेलुकी पाँच बजे साधारण सभा गर्दै छ। कम्पनीले के कति साधारण शेयर जारी गर्ने भन्ने अझै यकिन गरेको छैन। कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार नेपाल चिया विकास निगम २०३० साल माघ ११ मा दर्ता भएको हो। तर २०५६ सालमा आएर सरकारले यसलाई निजीकरण तर्फ लगेको थियो। सरकारले ५० वर्षको लागि जग्गा भाडमा दिएको छ। भाडा बापत कम्पनीले वार्षिक शुल्क ४० लाख रुपैयाँ सरकारलाई बुझाउँदै आएको छ। हाल कम्पनीले इलाम र झापामा रहेको करिब साढे ३२ सय बिघा जग्गा उपभोग गर्दै आएको छ। सरकारले भने कम्पनीले बार्षिक २० करोड रुपैयाँ भाडा बुझाउनु पर्ने दाबी गर्ने गरेको छ। तर उसले जग्गा नपुगेको र सम्झौता अनुसार जग्गा प्राप्त नभएको भन्दै वार्षिक भाडा ४० लाख रुपैयाँ मात्रै तिर्दै आएको बताउने गरेको छ।