काठमाडौँ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले पदभार ग्रहण गर्नुभएको छ । बोर्डको अध्यक्ष नियुक्तिका लागि अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा राजश्व सचिव शिशिर ढुंगाना र आइक्यान अध्यक्ष कृष्ण आचार्य रहेको छनौट समिति गठन गरेको थियो । समितिले ढुंगानासँगै बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र डा. केशवप्रसाद श्रेष्ठको नाम अर्थ मन्त्रालय मार्फत मन्त्रिपरिषद् पठाएको थियो ।
बोर्डको अध्यक्षका लागि खुल्ला प्रतिस्पर्धा आह््वान गर्दा ८ जनाको आवेदन परेको थियो । अध्यक्षमा नियुक्त ढुंगानाले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए तथा बेलायतबाट विजनेश फाइनान्समा एमबीएसम्मको अध्ययन गरेका छन् ।
एक समारोहकाबीच ढुंगानाले पद तथा गोपनियतको सपथ लिनुभएको हो । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत रहनुभएका ढुंगाना केही समयअघि मात्र बोर्डको सञ्चालक विज्ञका रुपमा नियुक्त भएका थिए ।
मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय बिहीबार सार्वजनिक भएपछि अध्यक्ष ढुंगानाले शुक्रबार पद बहाली गर्नुभएको हो । नवनियुक्त अध्यक्षको पद बहालीमा बोर्डका कर्मचारीहरुले एक समारोहको आयोजना गरि ढुंगानालाई खादा, माला र टिका लगाएर स्वागत गरेका थिए । अध्यक्ष ढुंगानाले स्वागतपछि पद बहाली गरेका गर्नुभएको थियो । पद बहाली गर्दै ढुंगानाले आफ्नो कार्यकालमा धितोपत्र बजारको दायरा फराकिलो पार्न प्रयत्न गर्ने बताउनुभएको थियो ।