free website hit counter

नेपाल–भारतबीच २४ बुँदे सहमति, ऊर्जा र पूर्वाधारदेखि शिक्षासम्म सहकार्य विस्तार

beemaadmin
२०८३ मंसिर ९, मंगलवार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच ऊर्जा, पूर्वाधार, यातायात, शिक्षा, स्वास्थ्य तथा व्यापारलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको छ । दुवै देशले विभिन्न विषय समेटिएको २४ बुँदे संयुक्त वक्तव्य जारी गर्दै द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली प्रधानमन्त्री शाहबीच भएको उच्चस्तरीय वार्तापछि सोमबार संयुक्त वक्तव्य जारी गरिएको हो । भ्रमणका क्रममा दुवै देशले ‘विकसित भारत र समुन्नत नेपाल’ को साझा दृष्टिकोण अघि बढाउने सहमति गरेका छन् । यसैगरी विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान भएको छ ।

Advertisement
Advertisement

भ्रमणका क्रममा भारतले नेपालको विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ । उक्त रकममध्ये ५ हजार ६०० करोड रुपैयाँ अनुदान र १८ हजार ४०० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको छ ।

Advertisement
Advertisement

अनुदान रकम विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार आयोजना निर्माणमा खर्च गरिनेछ भने सहुलियतपूर्ण ऋण ऊर्जा क्षेत्रका आयोजनामा उपयोग गरिने संयुक्त वक्तव्यमा उल्लेख छ । सहायता परिचालन गर्ने विशिष्ट आयोजना र प्रक्रियालाई दुवै देशबीचको परामर्शबाट अन्तिम रूप दिइनेछ ।

ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहमति

नेपाल–भारत सहकार्यको महत्वपूर्ण क्षेत्र मानिएको ऊर्जा क्षेत्रमा यसपटक केही महत्वपूर्ण सहमति भएका छन् । दुवै प्रधानमन्त्रीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरेका छन् ।

त्यस्तै, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र अन्तिम रूप दिने सहमति भएको छ । सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर निर्माण प्रक्रियालाई पनि तीव्रता दिने समझदारी बनेको छ ।

नेपालमा भारतीय कम्पनीले विकास गरिरहेका जलविद्युत् आयोजनालाई शीघ्र सम्पन्न गर्ने विषयमा समेत दुवै पक्ष सहमत भएका छन् । यसका अतिरिक्त इनरुवा–नयाँ पूर्णिया र दोधारा–बरेलीबीच उच्च क्षमताका दुई सीमापार विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त उद्यम गठन गर्ने प्रक्रियामा भएको प्रगतिप्रति दुवै देशले सन्तुष्टि जनाएका छन् ।

हवाई रुट र बन्दरगाह पहुँच विस्तार

नेपालले लामो समयदेखि उठाउँदै आएको हवाई रुटसम्बन्धी विषयमा पनि महत्वपूर्ण सहमति भएको छ । हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने विषयमा भारत सहमत भएको छ ।

यससम्बन्धी प्रक्रिया टुंग्याउन प्राविधिक परामर्श गरिने संयुक्त वक्तव्यमा उल्लेख छ । यसबाट भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक उडान विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, भारतले नेपालको पारवहन व्यापारका लागि गुजरातस्थित दीनदयाल बन्दरगाह (कान्डला) हुँदै नयाँ सम्पर्क मार्ग उपलब्ध गराउने घोषणा गरेको छ । आवश्यक पूर्वाधार तयार भएपछि ओडिसास्थित पारादीप बन्दरगाहसम्म पनि नेपालको पहुँच विस्तार गरिने भएको छ ।

रेलमार्ग र सडक पूर्वाधारमा सहकार्य

नेपाल र भारतबीच रेल तथा सडक पूर्वाधार विस्तारका विषयमा पनि सहमति भएको छ । प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको स्थलगत मार्ग निर्धारण सर्वेक्षण अन्तिम रूप दिइएको संयुक्त वक्तव्यमा उल्लेख छ ।

यसैगरी नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने सहमति भएको छ । अयोध्या र जनकपुरबीच सरयू–कमला एक्सप्रेस रेल सेवा पनि शुभारम्भ गरिएको छ । यसले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सीमापार पूर्वाधारतर्फ भारतको वनबासामा नयाँ एकीकृत जाँच चौकी निर्माणको शिलान्यास गरिएको छ । भैरहवा, सुनौली तथा दोधारा–चाँदनीमा एकीकृत जाँच चौकी निर्माणमा भइरहेको प्रगतिप्रति पनि दुवै देशले सन्तुष्टि जनाएका छन् ।

यसैगरी भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने नयाँ सीमापार सवारीसाधन सञ्चालनयोग्य पुलको उद्घाटन गरिएको छ । यसले पश्चिम नेपाल र भारतबीचको आवागमन तथा व्यापारिक सम्पर्कलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

पेट्रोलियम पाइपलाइन विस्तार हुने

पेट्रोलियम पूर्वाधार विस्तारमा पनि नेपाल र भारतबीच सहकार्य अघि बढाउने सहमति भएको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपाललाई हस्तान्तरण गरिएको छ ।

त्यस्तै, झापामा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास गरिएको छ । सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण कार्य छिट्टै सुरु गर्ने विषयमा दुवै पक्षले जोड दिएका छन् । नेपाल र भारतबीच ग्यास पाइपलाइन निर्माणको सम्भावनासमेत अध्ययन गरिने भएको छ ।

नेपालमा आईआईटीको क्याम्पस स्थापना हुने

शिक्षा क्षेत्रमा पनि महत्वपूर्ण सहमति भएको छ । भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को विदेशी क्याम्पस स्थापना गर्ने भएको छ । यसले नेपालको उच्च शिक्षाको गुणस्तर सुधार तथा प्राविधिक जनशक्ति उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, दुवै देशले स्टार्टअप, डिजिटल सेवा तथा वित्तीय पहुँच विस्तारमा सहकार्य गर्ने भएका छन् । एकअर्काको देशमा बसोबास गर्ने नागरिकलाई बैंकिङ तथा दूरसञ्चार सेवामा सहज पहुँच उपलब्ध गराउन आवश्यक सहजीकरण गर्ने सहमतिसमेत भएको छ ।

आठवटा समझदारीपत्र आदानप्रदान

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच आठवटा समझदारीपत्र आदानप्रदान भएका छन् ।

समझदारीपत्रमा अपराध अनुसन्धान तथा फरेन्सिक विज्ञानसम्बन्धी शैक्षिक र अनुसन्धान सहकार्य, प्रहरी तथा रक्षा शिक्षासम्बन्धी सहकार्य र नेपाली निजामती कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम सञ्चालन गर्ने विषय समेटिएका छन् ।

त्यस्तै, आयुर्वेद तथा परम्परागत चिकित्सा प्रणाली, भू–उपग्रहमा आधारित सञ्चार सञ्जाल, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपालन तथा मत्स्य विकासका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।

नेपाल र भारतबीच समाधान हुन बाँकी सीमा विवादका विषयमा काम गर्न दुवै देशका परराष्ट्र सचिवलाई निर्देशनसमेत दिइएको छ । सीमा स्तम्भको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त स्थलगत कार्यमा भएको प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् । मोदीले निमन्त्रणा स्वीकार गर्दै भ्रमणको मिति कूटनीतिक माध्यमबाट तय गरिने जनाइएको छ ।

समग्रमा प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा ऊर्जा, पूर्वाधार, पारवहन, शिक्षा तथा सामाजिक क्षेत्रका विभिन्न विषयमा सहकार्य विस्तार गर्ने सहमति भएको छ । अब यी सहमतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नेपालको आर्थिक विकास र समृद्धिमा प्रत्यक्ष योगदान पुर्‍याउनु दुवै सरकारका लागि मुख्य चुनौती हुनेछ ।

सम्बन्धित समाचार