काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लुम्बिनी प्रदेशमा आयोजना गरेको प्रदेशस्तरीय ‘तारा अवार्ड’ कार्यक्रम सम्पन्न भएको छ। बुटवलस्थित महाराजा रिसोर्टमा आयोजित कार्यक्रममा करिब ४२५ जनाको सहभागिता रहेको कम्पनीले जनाएको छ।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने १७० जना अभिकर्तालाई सम्मान गरिएको थियो। अभिकर्ताहरूले कम्पनीको व्यवसाय विस्तार तथा बीमा सेवाको पहुँच बढाउन पुर्याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, नेसनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी तथा पोलिसी सर्भिसिङ विभाग प्रमुख सुनिता पोखरेल, मोटिभेटर किसु झा तथा अभिकर्ता संघका पदाधिकारीलगायतको उपस्थिति थियो।
कार्यक्रममा अभिकर्ताको व्यावसायिक भूमिका, बीमा क्षेत्रमा देखिएका समसामयिक विषय तथा अभिकर्ताले भोगिरहेका समस्या र चुनौतीबारे छलफल गरिएको थियो। मोटिभेटर किसु झाले दिएको प्रेरणादायी प्रस्तुतिले सहभागी अभिकर्तालाई थप उत्साहित बनाएको कम्पनीले जनाएको छ।
कार्यक्रमका क्रममा नेपाल लाइफ र पेशागत बीमा अभिकर्ता संघबीचको सहकार्यका विषयमा समेत छलफल भएको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले नेपाल लाइफले अभिकर्ता संघसँग विगतदेखि नै सहकार्य गर्दै आएको उल्लेख गर्दै संस्थागत प्रक्रिया र संघको विधानअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष ओमबहादुर केसी र नेपाल लाइफ अभिकर्ता संघका अध्यक्ष गणेश अधिकारीले अभिकर्तासँग सम्बन्धित विषयलाई संस्थागत प्रक्रियामार्फत अघि बढाउनुपर्नेमा जोड दिए।
कम्पनीले यस्ता कार्यक्रमले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई प्रोत्साहन गर्नुका साथै उनीहरूको व्यावसायिक क्षमता विकास र बीमा सेवाको विस्तारमा सहयोग पुग्ने जनाएको छ।